ग्याजेट विशेष

के हो फाइभ जी (5G) ?

  नागरिक   2018-12-25

नेपालमा फोरजी (4G) आएको दुई वर्ष पनि नबित्दै प्रविधि सम्पन्न मुलुकमा फाइभजी ( 5G ) सुरु गर्ने तैयारी भइसकेको छ | सन् २०१६ मा प्रोसेसर र मोडम निर्माता क्वालकमले दुनियाँलाई फाइभजीको पहिलो झलक दिएको थियो |  त्यसबेला देखि सुरु भएको फाईभजीको तैयारी अहिले लगभग अन्तिम चरणमा छ र सन् २०१९ मा केहि देशका केहि टेलिकम कम्पनीले सेवा प्रदान गर्ने भएका छन् |

के हो 5G ?

5G को अर्थ हो टेलिकम जगतको पाँचौं पिढी जसमा अघिल्लो संस्करण अर्थात् फोरजीको तुलनामा इन्टरनेट स्पिड र अन्य थुप्रै कुराहरुमा सुधार हुनेछ | फाइभ जीको फाइदाहरु यस्ता रहेका छन् :

  • उच्च इन्टरनेट स्पिड

फाइभजीले राम्रो नेटवर्क कभरेज भएको क्षेत्रमा १ जीबीपीएससम्मको इन्टरनेट स्पिड प्रदान गर्न सक्नेछ | तुलनाका लागि हालै नेपाल टेलिकमले प्रदान गर्ने फोरजीको स्पिड हो ३० एमबीपीएस  - फाइभजीभन्दा ३० गुणा कम |

  • कम लेटेंसी

सर्भर र प्रयोगकर्ता बीचको संचारमा हुने ढिलाईलाई लेटेंसी मार्फत मापन गरिन्छ | जति कम लेटेंसी - त्यति नै राम्रो नेटवर्क | फाइभजीको लेटेंसी १ मिलीसेकेन्डसम्म कम गर्न सकिने  विश्वास गरिएको छ | तुलनाका लागि फोरजीको लेटेंसी हो ५० मिलीसेकेन्डको - फाइभजीभन्दा ५० गुणा धेरै |

  • उच्च सिस्टम क्षमता

फाइभजीको सहयोगबाट टेलिकमले कुनै पनि क्षेत्रमा धेरै मात्रामा उपकरणहरुसँग संचार गर्न पाउने छ | एक किलोमिटर स्क्वायर क्षेत्रफलमा मात्रै पनि १० लाख वटा उपकरणहरु चल्न सक्नेछन् | यहि कारणले नै गर्दा फाइभजीले  इन्टरनेट वफ थिन्ग्स अर्थात् उपकरणहरुको इन्टरनेटमा विकास गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ |


बेफाइदा के ?

फाइभजीले प्रयोगकर्ताका लागि धेरै फाइदाजनक कुराहरु उपलब्ध गराएपनि यसका थुप्रै बेफाइदा पनि रहेका छन् - जसमध्ये कति बेफाइदाहरु समय र यस प्रविधिको विकाससँगै हट्दै जानेछन् |

  • उच्च मूल्य

सबैभन्दा पहिलो बेफाइदा हो मूल्य को | फाइभजी नयाँ प्रविधि भएका कारणले पनि यो प्रविधिलाई सपोर्ट गर्ने उपकरणहरु सस्ता हुने छैनन् | टेलिकमका लागि पनि फाइभजी स्थापना गर्नु र सम्भार गर्नु  पनि निकै खर्चिलो कार्य हुनेछ | स्मार्टफोन निर्मातालाई आफ्नो स्मार्टफोनमा पनि फाइभजी मोडम खरिद गरेर हाल्न खर्चिलो पर्नेछ |

  • कम कभरेज

उच्च स्पिडसँग जोडिएर आउने बेफाइदा हो नेटवर्क कभरेजको | फाइभजीको स्पिड निकै बढी छ तर फाइभजीका टावरले थ्रीजी र फोरजी जतिको क्षेत्रफलमा नेटवर्क उपलब्ध गराउन सक्ने छैन |

स्मार्टफोन निर्माताको तैयारी

उच्च मूल्य र कम उपलब्धताका कारण स्मार्टफोन निर्माताहरुले पनि फाइभजीको ट्रेन्डलाई हतार गर्दै अँगालो नहाल्ने देखिएको छ | सामसंगले निकाल्न लागेको नयाँ सामसंग ग्यालेक्सी एस १० मा फाइभजी उपलब्ध हुने लगभग निश्चित नै छ तर उक्त फाइभजी भएको मोडल कतिसम्म महँगो होला भन्ने कुराको चाहिँ हालै केहि जानकारी छैन |  निकै चर्चित स्मार्टफोन , आइफोनको निर्माता एप्पलले पनि सन् २०२० अघि फाइभजी भएको आइफोन उपलब्ध नगराउने बताएको छ |

सन् २०१९ मा रिलिज हुने र क्वालकमले यहि वर्ष रिलिज गरेको स्न्यापड्र्यागन् ८५५ प्रयोग गरेका थुप्रै स्मार्टफोनहरु फाइभजी अनुकूल त हुनेछन् तर उक्त स्मार्टफोन अलि बढी नै महँगो हुने निश्चित छ | वानप्लसका मुख्य अधिकारीले पनि फाइभजी भएको स्मार्टफोन फाइभजी नभएको स्मार्टफोनको तुलनामा २००-३०० अमेरिकी डलर महँगो पर्न सक्ने कुराको जानकारी दिएका थिए |


नेपालमा कहिले ?

इतिहास हेर्ने हो भने नेपालमा फाइभजी आउन अझै धेरै नै समय लाग्ने छ | जस्तै , फोरजी प्रविधि सन् २००९ बाट नै उपलब्ध भएको प्रविधि हो | तर नेपालमा सन् २०१७ मा मात्र उपलब्ध भएको थियो र अझै पनि फोरजी केहि सहरहरुमा मात्र उपलब्ध छ | यसर्थ, नेपालमा फोरजी पनि त्यति राम्रोसँग फस्टाउन सकेको छैन र फाइभजी कहिले आउछ भन्ने कुराको केहि टुंगो छैन  |

 

 

यसमा तपाईको मत