ग्याजेट विशेष

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

  नागरिक   2018-08-19

क्रमागत रुपमा विकास हुदैँ स्मार्टफोनका क्यामराहरु अहिले पहिलेको भन्दा धेरै उन्नत र सक्षम भएका छन् र डिजिटल क्यामरालाई प्रतिस्थापन गर्न सफल भएका छन् | स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ | हरेक वर्ष विभिन्न स्मार्टफोन कम्पनीहरुले थप विशेष फिचर र गुणस्तरमा सुधार साथ नयाँ स्मार्टफोन क्यामराहरु बजारमा ल्याउछन् | यस्तै २०१८को ३ महिनामा मात्र पनि स्मार्टफोनको क्यामराको जगतमा थुप्रै रोचक फिचर र ट्रेन्डहरु आएका छन् | यहि ट्रेन्डहरुको बारेमा यस लेखमा चर्चा गरिएको छ:

सुपर स्लो मोसन भिडियो

सामान्य स्लो मोसनको भन्दा पनि अझ धेरै स्लो गरि भिडियो खिच्न मिल्ने फिचरलाई सुपर स्लो मोसन भिडियो भनिएको हो | स्लो मोसन भिडियो स्मार्टफोनमा आएको त अर्धदशक नाघिसक्यो तर सुपर स्लो मोसन चाहिँ पुरानो विधिभन्दा धेरै उन्नत छ | सामान्यतया स्मार्टफोनले स्लो मोसन भिडियोका लागि एक सेकन्डमा १२० फ्रेमहरु खिच्छ, तर नयाँ सुपर स्लोमो अन्तर्गत स्मार्टफोनले एक सेकन्डमै ९६० फ्रेम सम्म खिच्न सक्छ – सामान्यभन्दा ८ गुणा धेरै |

सुरुमा सुपर स्लो मो भिडियो २०१७मा सोनीको एक्सपेरिया एक्सजेडमा समावेश गरिएको थियो | तर सो समयमा यसको खासै चर्चा भएको चाहिँ थिएन | यो बर्ष चाहिँ सामसुंगले आफ्नो फ्ल्यागशिप स्मार्टफोन – ग्यालेक्सी एस ९ र एस् ९ प्लसमा यो फिचर समावेश गरेको छ | अन्य ठूला कम्पनीबाट अब आउने नयाँ स्मार्टफोनहरुमा यो फिचर हुनु लगभग निश्चित छ |

अपर्चर परिवर्तन हुने क्यामरा

क्यामराको अपर्चरले त्यो क्यामराको लेन्स कति ठूलो साइज सम्म खुल्छ भन्ने जनाउछ | जति ठूलो अपर्चर, त्यति नै धेरै त्यो क्यामराको लेन्स खुल्न सक्छ र त्यति नै धेरै त्यसले बाहिरबाट लाइट लिन सक्छ | DSLR र मिररलेस क्यामरामा यो एक साधारण फिचर हो | २०१७ सम्मका सबै स्मार्टफोनहरुमा यस्तो अपर्चर फिक्स हुन्थ्यो तर २०१८मा सामसुंगले आफ्नो फ्ल्यागशिप स्मार्टफोन – ग्यालेक्सी एस् ९ मा पहिलोपटक अपर्चर परिवर्तन हुने क्यामरा समावेश गरेको छ |

सामसुंगको एस् ९ को क्यामराको अपर्चर दुई साइजको छ – थोरै लाइट भएको र अध्यारोको लागि ठूलो F1.5 र लाइट धेरै भएको र दिनको लागि सानो F2.4 | यस स्मार्टफोनले दुई अपर्चर बीच आवश्यकता अनुसार स्विच गर्नसक्छ र प्रयोगकर्ताले मन लागे अनुसार आफैले अपर्चर परिवर्तन पनि गर्न सक्छन | स्मार्टफोन क्यामरामा आएको यस नयाँ र अभिनव प्रविधिले स्मार्टफोनको क्यामरालाई थप उत्कृष्ट बनाएको छ | यस वर्ष रिलिज हुने नयाँ फ्ल्यागशिप स्मार्टफोनहरुमा पनि यो फिचर समावेश हुन सक्ने सम्भावना धेरै छ | 

ट्रिपल क्यामरा

सन् २०१४को मार्चमा एच्. टि. सि. ले पहिलो पटक दुईवटा क्यामरा भएको स्मार्टफोन रिलिज गरेको थियो | त्यस पश्चात लगभग सबै साना ठूला स्मार्टफोन कम्पनीहरुले आफ्नो स्मार्टफोनमा दुईवटा क्यामरा राख्न थाले | सिंगल क्यामराभन्दा डबल क्यामरा भएको स्मार्टफोनले अलिक राम्रो तस्बिर खिच्न सक्ने र थप फिचर – जस्तै व्होके इफेक्ट, ब्लर आदि- हरु पनि हुने भएकाले यसको चर्चा बढ्दै गयो | आज भोलि मिडरेन्ज स्मार्टफोनमा पनि दुईवटा क्यामरा भेटिन थालेको छ |

अहिले २०१८मा आएर हुवावेले पहिलो पटक ३ वटा मुख्य क्यामरा भएको स्मार्टफोन , हुवावे P20 प्रो रिलिज गरेको छ  | यसमा ४० मेगापिक्सल, २० मेगापिक्सल र ८ मेगापिक्सल गरि तीनवटा क्यामराहरु राखिएको छ | यहि वर्ष नै १६ वटा स्मार्टफोन क्यामरा साइजको सेन्सर प्रयोग गरेर निर्माण गरिएको लाइट एल१६ नामक क्यामरा बजारमा आएको  छ | यसैबाट क्यामराको गुणस्तरका संगसंगै स्मार्टफोनको जगतमा क्यामराको संख्याले पनि फरक पार्छ भन्ने कुरा बुझ्न सकिन्छ |

 एआइ (AI)क्यामरा

AI अर्थात आर्टिफिसिअल इन्टेलिजेन्स यो दशकको सबैभन्दा बढी चर्चामा रहेको विषय बनेको छ | AI ले गर्दा हाम्रो जीवनमा  कम्प्युटरको उपयोगितामा नयाँ सम्भावनाहरुको विकास भएको छ | यसले गर्दा हाम्रा स्मार्टफोन, कम्प्युटर र दैनिक उपकरणहरु झन् “स्मार्ट” हुदै गएका छन् | AI र क्यामरा बीचको सम्बन्ध भने गहिरो छ किन कि AIको भिजनमा क्यामरा नै प्रयोग भएको हुन्छ | तर, AI नै प्रयोग भएको क्यामरा स्मार्टफोनको जगतमा पहिलो पटक २०१८ मै आएको छ | यसको प्रयोग हुवावेले आफ्नो फ्ल्यागशिप हुवावे P20 प्रो मा गरेको छ |

हुवावेको P20 प्रो मा NPU अर्थात् न्युरल प्रोसेसिंग युनिट छ जसले स्मार्टफोनमा AI सम्बन्धि सम्पूर्ण कामहरु गर्छ | यस स्मार्टफोनको क्यामराले ५०० वटा भन्दा बढी परिदृश्यलाई आफै पहिचान गर्न सक्छ र क्यामराको सेटिंग पनि त्यहि अनुसार परिवर्तन गर्न सक्छ | अन्य स्मार्टफोन जस्तै गूगलको पिक्सल २ को क्यामरामा पनि AI समावेश गरिएको थियो |

एआर(AR) इमोजी

इमोजी भन्नाले विविध अभिव्यक्ति दिने साना साना कार्टुन अनुहार चित्रहरु हुन् जसको अत्यधिक प्रयोग अहिले मेसेज, फोटो देखि सामाजिक संजालको पोस्टहरुमा भएको हुन्छ | सामान्यतया इमोजीहरु पनि साना फोटो जस्तै हुन्छन – चित्रमा कुनै हलचल हुदैन | कहिँ कतै गिफ इमोजीहरु पनि प्रयोग भएको भेटिन्छ | तर अहिले २०१८मा आएर इमोजीले बेग्लै रुप लिन थालेको छ | AR अर्थात् कृतिम वास्तविकता (Artificial Reality) र क्यामराको प्रयोगबाट मानिसको अनुहारको भाव संग ठ्याक्कै मिल्ने एनिमेटेड इमोजीहरु स्मार्टफोनले खिच्न सक्ने भएका छन् |

पहिले पहिले विभिन्न एपहरुबाट गर्न सकिने यस कुरालाई अहिले आएर स्मार्टफोन निर्माताहरुले फोन मै समावेश गर्न थालेका छन् | आइफोन १० मा देखिएको यस फिचर अहिले सामसुंग ग्यालेक्सी S9 मा पनि राखिएको छ | यो फिचर पनि २०१८का नयाँ स्मार्टफोनहरुमा सामान्य हुने कुरा लगभग निश्चित छ |

 

 

 

यसमा तपाईको मत