कभर स्टोरी

१८औं हस्तकला व्यापार मेला मंसिर पहिलो साता

  नागरिक   2021-10-29

नेपाल हस्तकला महासंघले मंसिर ३ देखि ५ गतेसम्म १८औं हस्तकला व्यापार मेला तथा १६औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ।

यस वर्ष काठमाडौं हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिने हस्तकला महासंघले जनाएको छ। कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ।

उक्त मेलामा हस्तकलालगायत विभिन्न वस्तुका करिब १ सय २० स्टल रहनेछन्। मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाइबर ९प्राकृतिक रेसा० र फिलगिरी गरी दुई विधामा प्रतियोगिता गरिने तथा प्रतियोगीलाई पुरस्कृतसमेत गरिने कला प्रतियोगिताका संयोजक राजमान वज्राचार्यले बताए।

त्यस्तै मेलाकै अवसरमा ७० वर्ष नाघेका ज्येष्ठ कलाकार तथा हस्तकला वस्तु विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ। मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघसंस्थाको पनि सहयोग रहेको छ।

नेपाली हस्तकलालगायत अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबिच व्यवसायसम्बन्धी विकास, विदेशी हस्तकला आयातकर्तारउपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रवाह गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबिचको अन्योन्याश्रित सम्बन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य रहेको छ।

यसमा तपाईको मत