ग्याजेट विशेष

रोकिएन मेगापिक्सल क्रेज - १०८ मेगापिक्सल क्यामरा भएको स्मार्टफोन आउँदै !

  नागरिक   2019-08-13

बजारमा ६४ मेगापिक्सलको क्यामरा भएको स्मार्टफोन आउने कुरा सार्वजनिक भएको महिना दिन पनि बित्न नपाउँदै सामसंगले १०८ मेगापिक्सलको स्मार्टफोन क्यामरा सेन्सर सार्वजनिक गरेको छ । उक्त सेन्सर अहिले सम्म कै सबैभन्दा ठूलो स्मार्टफोनको लागि बनेको क्यामरा हो ।

सामसंगको यस १०८ मेगापिक्सलको सेन्सरको नाम आइसोसेल ब्राइट एच एम एक्स ( ISOCELL Bright HMX) राखिएको छ । यस सेन्सरको साइज १/१.३३ इन्चको रहेको छ जुन पुरानो ४८ मेगापिक्सल रेजोलुसन भएको आइसोसेल ब्राइट जी एम १ ( ISOCELL Bright GM1 ) भन्दा १२५ प्रतिशतले ठूलो हो ।

यस सेन्सरमा १०० मिलियन अर्थात् १० करोड भन्दा धेरै प्रभावकारी पिक्सलहरू हुने कुराको जानकारी  सामसंगले प्रेस रिलिज मार्फत गरेको छ । यस सेन्सरले टेट्रासेल प्रविधिको प्रयोग गर्ने भएकाले उक्त १० करोड पिक्सलहरूबाट एउटा २७ मेगापिक्सलको तस्विर उत्पादन हुनेछ ।

 यस सेन्सरको साइज पनि अन्य भन्दा निकै ठूलो भएको कारणले गर्दा पनि यस सेन्सरले अन्य सेन्सरको तुलनामा राम्रो र उज्यालो तस्विर खिच्न सक्नेछ । यस सेन्सरले अति नै न्यून प्रकाश भएको स्थानमा पनि राम्रो तस्विर खिच्न सकिने दाबी सामसंगले गरेको छ । यसै गरि यो नयाँ सेन्सरमा स्मार्ट आइसो पनि हुनेछ जसले तस्विरको चहक र गुणस्तरलाई सुधार गर्न सहयोग पुर्याउने छ ।

भिडियोको सन्दर्भमा यस सेन्सरले 6k ( ६०१६ x ३३८४ ) रेजोलुसनको भिडियो खिच्न सक्नेछ । तर उक्त भिडियो भने केवल ३० हर्ज अर्थात् ३० FPS मा सिमित हुनेछ । तापनि यो रेजोलुसन स्मार्टफोनको जगतमा सबैभन्दा धेरै हो ।

सामसंगको यस सेन्सरको प्रयोग गर्ने पहिलो स्मार्टफोन निर्माता भने सायोमी हुनेछ । यस वर्षको अक्टोबरमा रिलिज हुने भनिएको सायोमीको फ्ल्याग्शिप स्मार्टफोन - सायोमी मि मिक्स ४ मा यस सेन्सरको प्रयोग हुनेछ । सायोमीले यस लगायत ६४ मेगापिक्सल क्यामरा भएको रेड्मी स्मार्टफोन पनि रिलिज गर्ने भएको छ ।

स्रोत : सामसंग

के हो क्यामरा रेजोलुसन ?

क्यामरा वा कुनै पनि डिजिटल ग्राफिक्स सम्बन्धि कुरामा रेजोलुसनले उक्त ग्राफिक्सको आकार र साइजलाई जनाउछ । क्यामराको सन्दर्भमा रेजोलुसनले उक्त क्यामराले कुन साइजको तस्विर खिच्न सक्छ भन्ने कुरा बुझाउछ ।

उदाहरणका लागि:

क्याननको रिबेल क्यामरा मोडलले २०४८x३०७२ रेजोलुसनको तस्विर खिच्न सक्छ । यहाँ २०४८ र ३०७२ अंकहरूले यो क्यामराले खिच्ने फोटोको चौडाई र लम्बाई कति हुन्छ भनेर बुझाउछ । यसर्थ, यस क्यामराले खिच्ने तस्विरको लम्बाईमा ३०७२ वटा पिक्सल छन् भने चौडाईमा २०४८ वटा पिक्सल छन् । यी दुई अंकलाई गुणन गर्दा ६२९१४५६ आउछ - जुन लगभग ६३ लाख हो । यसर्थ उक्त क्यामरा ६.३ मेगापिक्सलको हो ।

धेरै मेगापिक्सलको फाइदा के ?

जति धेरै मेगापिक्सलको क्यामरा, उक्त क्यामराले त्यति नै धेरै रेजोलुसनको तस्विर खिच्न सक्छ । धेरै रेजोलुसन तस्विरमा धेरै जानकारीहरू समेटिएको हुन्छ भने रंगहरू पनि राम्रोसँग देखिएको हुन्छ ।

धेरै मेगपिक्सल भएको क्यामराले धेरै रेजोलुसनको भिडियो पनि खिच्न सक्छ । उदाहरणका लागि: 4K भिडियो खिच्नका लागि कम्तिमा पनि ८.७ मेगापिक्सलको क्यामरा भएको स्मार्टफोन वा क्यामरा आवश्यक पर्छ । सोभन्दा कम रेजोलुसन भएको स्मार्टफोन क्यामराले 4K मा भिडियो खिच्न सक्दैन । यसै गरि १०८०p अर्थात् फुल एचडी भिडियो खिच्नका लागि २ मेगापिक्सल वा सोभन्दा बढी रेजोलुसन भएको क्यामरा चाहिन्छ ।

 

यसमा तपाईको मत