ग्याजेट विशेष

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

    2019-04-16

विन्डोज १० को रिलिज पछि माइक्रोसफ्टले हरेक ६-६ महिनामा मुख्य मुख्य अपडेटहरु प्रदान गर्न थालेको छ | यहि ६ महिने चक्रलाई पालन गर्दै यहि मे महिनामा विन्डोज १० को “मे अपडेट” आउन लागेको हो | यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ जसका बारेमा यो लेखमा चर्चा गरिएको छ | यो अपडेट यहि मे महिनाबाट प्रयोगकर्ताले आफ्नो विन्डोज कम्प्युटरमा इन्स्टल गर्न सक्नेछन् |

१. नयाँ लाइट मोड 

विन्डोज १० को नयाँ अपडेटमा सुधारिएको लाइट मोड आउने भएको छ | यस मोड सुचारु गरेपछि विन्डोजको टास्क बार, एक्सन सेन्टर र अन्य युजर इन्टरफेसका कुराहरू सेतो रंगको हुनेछ | यस भन्दा अगाडी लाइट वा डार्क जुन मोड चयन गरेपनि टास्कबार र एक्सन सेन्टर भने डार्क अर्थात् गाढा रंगको हुने गर्दथ्यो | 

२. सर्च र कोर्टाना छुट्टाछुट्टै

यस नयाँ अपडेटमा माइक्रोसफ्टको कोर्टाना र सर्चलाई छुट्टाछुट्टै राखिएको छ | सर्चका लागि सर्च आइकन छ भने कोर्टानाका लागि छुट्टै आइकन छ | प्रयोगकर्ताले दुवै फिचरलाई छुट्टाछुट्टै चलाउन सक्नेछन् | यो अपडेटभन्दा अगाडीको संस्करणहरूमा कोर्टाना र सर्च एकै थिए, जसले गर्दा लोकल कम्प्युटरमा भएका फाइल र एपहरू खोज्न अफ्ट्यारो भएको थियो | उक्त समस्या समाधान गर्नका लागि नै नयाँ विन्डोजको अपडेटमा कोर्टाना र सर्चलाई बेग्ला बेग्लै मेनु र आइकन दिईएको हो | 

३. विन्डोज स्याण्डबक्स  

विन्डोज १० प्रो र इन्टरप्राइज संस्करणमा विन्डोजको नयाँ स्याण्डबक्स फिचर आउने भएको छ | उक्त स्याण्डबक्स फिचर अन्तर्गत प्रयोगकर्ताले शंकास्पद एप र प्रोग्रामहरूलाई एउटा भर्चुअल कन्टेनरमा चलाउन सक्नेछन् - जसबाट प्रयोगकर्ताको कम्प्युटरलाई भाइरस र मालवेयर लाग्ने  जोखिमबाट बचाउने छ  | स्याण्डबक्सबाट प्रयोगकर्ताले विन्डोज १० भित्र विन्डोज १० कै भर्चुअल मेसिन बनाउनु पर्ने झन्झटबाट पनि छुटकारा पाउनेछन् | 

४. र इमेजको सपोर्ट 

र (RAW) इमेज अर्थात् कम्प्रेस नगरिएको र गुणस्तर नघटेको फोटोको सपोर्ट विन्डोज १० को नयाँ अपडेटले प्रदान गर्नेछ | विन्डोज एक्सप्लोर्रले RAW तस्विरको थम्बनेल र प्रिभ्यु सजिलैसँग देखाउन सक्नेछन् | यो फोटोग्राफरहरूको लागि निकै काम लाग्ने फिचर हो | 

५. रिजर्भ स्टोरेज 

नयाँ अपडेटबाट विन्डोज १० ले अपडेट कै लागि भनेर ७ जीबीभन्दा बढी स्टोरेजलाई रिजर्भ अर्थात् सुरक्षित गरेर राख्नेछ जसबाट प्रयोगकर्तालाई एकबाट अर्को संस्करणमा अपडेट गर्नका लागि स्टोरेज सम्बन्धि झन्झट हुँदैन |  

यसमा तपाईको मत