ग्याजेट विशेष

स्मार्टफोन VR को भविष्य अन्योलमा

  नागरिक   2019-10-18

स्मार्टफोन VR ( भर्चुअल रिआलिटि ) ले धेरै प्रयोगकर्ताहरूलाई VR प्रविधिलाई प्रयोग गर्न मौका प्रदान गर्यो । तर गुगलले केही दिन अगाडी सार्वजनिक गरेको जानकारी अनुसार स्मार्टफोनमा आधारित VR को भविष्य अन्योलमा परेको छ । गुगलले हालै रिलिज गरेको पिक्सल ४ र पिक्सल ४ प्लस स्मार्टफोनहरूमा गत वर्षको पिक्सलहरूको तुलनामा एउटा फिचर छुटेको छ । र, त्यो छुटेको फिचर हो गुगलको डेड्रिम अर्थात् स्मार्टफोन भर्चुअल रिआलिटि ।

गुगलले सन् २०१६ मा सस्तो र धेरै प्रयोगकर्ताहरूको माझमा उपलब्ध गराउने उदेश्यका साथ गुगल डेड्रिम VR प्रविधिलाई सार्वजनिक गरेको थियो । उक्त उत्पादन गुगल कै पुरानो र सस्तो कार्डबोर्ड VR को सफलता पछि रिलिज गरिएको थियो । रिलिजको समयमा उक्त प्ल्याटफर्ममा दश करोडभन्दा बढी प्रयोगकर्ताहरू हुने आशा गुगलले राखेको थियो । तर सन् २०१९ मा आएर कुनै पनि मुख्य एन्ड्रोइड निर्माताको स्मार्टफोनले यस प्रविधिलाई सपोर्ट गरेको छैन । गुगल कै आफ्नै स्मार्टफोनले पनि यस प्रविधिलाई सपोर्ट नगरेको भने पहिलो पटक हो ।

यस प्ल्याटफर्म र प्रविधिलाई बन्द गर्नु पछाडीको मुख्य कारण नै प्रयोगकर्ताको कमि रहेको छ । साधारण उपभोक्ताले यस प्रविधि प्रति गुगलले सोचेभन्दा निकै कम चासो देखाएका कारणले गर्दा नै यस प्रविधिलाई बन्द गर्न लागेको कुरा गुगलका एक प्रतिनिधिले द भर्जलाई जानकारी दिएका छन् ।

सामसंगले रिलिज गरेको GearVR ले सुरुको वर्षमा नै निकै राम्रो सफलता पाएको थियो । एक रिपोर्टको अनुसार सामसंगले रिलिज कै वर्षमा ५० लाखवटाभन्दा बढी VR हेडसेटहरू रिलिज गर्न सफल भएको थियो । तर VR हेडसेट खरिद गरेका प्रयोगकर्ताहरूले पनि VR लाई केही पटकभन्दा बढी प्रयोग नगरेको भेटिएको छ । यस कारणले गर्दा स्मार्टफोन VR को प्ल्याटफर्म फस्टाउन सकेन । सामसंगले GearVR को बिक्रि वितरणलाई पूर्ण रूपमा बन्द गरेको चाँही छैन ।

स्मार्टफोनमा आधारित VR हेडसेटहरूले कम्प्युटर र कन्सोलबाट चल्ने VR हेडसेटको गुणस्तरलाई टक्कर दिन सक्दैनन् । Oculus Rift, HTC Vive, र PlayStation VR उच्चस्तरीय VR हेडसेटहरू हुन् । स्मार्टफोनमा आधारित VR को गुणस्तर निकै कम हुनुका साथै यसको प्रयोजन पनि निकै सिमित छन् ।

स्मार्टफोन आधारित VR प्ल्याटफर्मको निर्माणबाट गुगल पछि हट्नु, बजारमा स्ट्यान्डअलोन VR हेडसेट उपलब्ध हुनु र अन्य स्मार्टफोन निर्माताले गुगल डेड्रिम प्ल्याटफर्मलाई चासो नदिनु नै स्मार्टफोन VR को भविष्य अन्योलमा पर्नुको मुख्य कारण हो ।

 

यसमा तपाईको मत