ग्याजेट विशेष

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

    2018-09-30

नयाँ किन्दा सुरुसुरुमा फास्ट चलिरहेको तपाईंको एन्ड्रोइड स्मार्टफोन केही महिनापछि स्लो भएको छ ? कारण यी हुन सक्छन्-

१. तपाईं अनावश्यक एप इन्स्टल गर्नुहुन्छ :

तपाईंले इन्स्टल गरेका अधिकांश एप ब्याकग्राउण्डमा चलिरहेका हुन्छन | दुई-चारवटा एप ब्याकग्राउण्डमा चल्दा त खासै फरक पर्दैन तर जब ब्याकग्राउण्डमा चल्ने एपको संख्या बढ्दै जान्छ तब तपाईंको स्मार्टफोन स्लो हुँदै जान्छ | नयाँमा राम्रो चल्ने एन्ड्रोइड स्मार्टफोन पछि गएर स्लो चल्नुको मुख्य कारण नै यही हो |

समाधान

•    धेरै एप इन्स्टल नगर्नुहोस् |
•    इन्स्टल भइसकेका तर खासै प्रयोगमा नआएका एप डिलिट गरिदिनुहोस् |
•    यदि कुनै एपको Lite भर्सन उपलब्ध छ भने Lite भर्सन नै प्रयोग गर्नुहोस्, उदाहरणका लागि Facebook Lite, Twitter Lite आदि |
•    अन्य एप चलाउँदा पनि Ad दिने, लकस्क्रिन मै Ad दिने, नोटिफिकेसनमै बसिरहने एपहरुलाई सिधा डिलिट गरिदिनु होस् | यस्तो एपको विकल्प खोज्नु नै राम्रो हुन्छ |
•    Settings को Battery मा गएर एप प्रयोगको निगरानी गर्नुहोस् | तपाईंले प्रयोग नगरेको कुनै एपको ब्याट्री खपत धेरै छ भने उक्त एपले नै तपाईंको स्मार्टफोन स्लो बनाइरहेको हुन सक्छ |


२. तपाईंले अर्कै लन्चर, किबोर्ड र लकस्क्रिन प्रयोग गर्नुहुन्छ :

एन्ड्रोइड स्मार्टफोनमा लन्चर, किबोर्ड, लकस्क्रिन आदि सबै परिवर्तन गर्न मिल्छ | नयाँ किन्दा भएको लन्चर, किबोर्ड, लकस्क्रिन मन परेन भने त्यसको सट्टामा तपाईंले हजारौं विकल्प प्लेस्टोरमा भेट्न सक्नुहुनेछ | तर यी लन्चर, किबोर्ड आदि परिवर्तन गर्दाको एउटा कम्जोर पक्ष छ- परफरमेन्स स्लो हुने |

धेरै Ad आउने, धेरै तडकभडक भएको र अनावश्यक फिचर बढी भएको लन्चरले ब्याट्री र RAM दुवै धेरै प्रयोग गर्छ जसले गर्दा तपाईंको स्मार्टफोन स्लो हुन जान्छ |

 

समाधान

•    सकेसम्म लन्चर, किबोर्ड र लकस्क्रिन डिफल्ट नै प्रयोग गर्न कोसिस गर्नुहोस् |
•    कुनैकुनै लन्चरहरु डिफल्टभन्दा पनि फास्ट हुन्छन्, उदाहरणका लागि Nova Launcher. त्यस्ता लन्चरको प्रयोग गर्नुहोस् |
•    किबोर्डमा GBoard, Swiftkey जस्ता किबोर्डको प्रयोग गर्नुहोस् |
•    होमस्क्रिनमा धेरै Widget हरु नराख्नुहोस् |

३. तपाईंले आफ्ना एप मेमोरी कार्डमा इन्स्टल गर्नुभएको छ :

इन्टरनल मेमोरी स्टोरेज फास्ट हुन्छ, मेमोरी कार्ड स्लो हुन्छ | इन्टरनल मेमोरीमा इन्स्टल भएका एप मेमोरी कार्डमा इन्स्टल भएका एपको तुलनामा चाँडो खुल्छन्, फास्ट चल्छन् | तपाईंले पनि आफ्ना अधिकांश एप मेमोरी कार्डमा इन्स्टल गर्नुभएको छ भने ती एप अवश्य पनि केही हदसम्म स्लो चलिरहेका छन् |

समाधान

•    धेरै प्रयोग हुने एप इन्टरनल मेमोरीमा इन्स्टल गर्नुहोस् | गेमहरु मेमोरी कार्डमा भए पनि खासै फरक पर्दैन |
•    मेमोरी कार्ड खरिद गर्दा सधै Class 10  वा माथिको किन्नुहोस् | मेमोरी कार्डमा सानो गोलोभित्र लेखेको नम्बरले उक्त मेमोरी कार्डको क्लासलाई जनाउँछ |

४. तपाईं स्मार्टफोनलाई कहिल्यै रिस्टार्ट गर्नुहुन्न :

तपाईंले यसअगाडी कहिले आफ्नो स्मार्टफोन रिस्टार्ट गर्नुभएको थियो ? १-२ दिन भित्रमा गर्नुभएको छैन भने यो पनि स्मार्टफोन स्लो हुनुको एक कारण हुन सक्छ | स्मार्टफोन रिस्टार्ट गर्नाले RAM र टेम्पोररी (अस्थायी) मेमोरी क्लियर हुन्छ जसले गर्दा स्मार्टफोन छिटो चल्छ |

समाधान :

•    २-३ दिन मा एकपटक स्मार्टफोन रिस्टार्ट गर्ने बानी बसाल्नुहोस् |
•    कुनैकुनै स्मार्टफोनले Schedule Restart भन्ने फिचरबाट तपाईंलाई अटोमेटिक र नियमित स्मार्टफोन रिस्टार्ट गर्ने अप्सन दिन्छन् |  

 

५. तपाईंको स्मार्टफोन निकै पुरानो भयो :

माथि उल्लिखित सबै कुराको समाधानमा भनिएका सबै उपाय अपनाइसक्दा पनि तपाईंको स्मार्टफोन उस्तै स्लो छ भने स्मार्टफोन नै पुरानो भएको हुनुपर्छ | स्मार्टफोन पुरानो हुँदैमा उक्त फोन स्लो हुने चाहिँ होइन तर नयाँ निस्केका एप र गेमलाई अलिक बढी RAM र अलि शक्तिशाली प्रोसेसर आवश्यक परिरहेको हुन्छ जुन तपाईंको पुरानो स्मार्टफोनसँग हुँदैन | नयाँ गेम र एप राम्रोसँग चलाउन नयाँ र शक्तिशाली स्मार्टफोन नै आवश्यक पर्छ |


समाधान

•    नयाँ स्मार्टफोन किन्नुहोस् |
•    अहिलेको समयमा कस्तो एन्ड्रोइड स्मार्टफोन किन्ने भन्नेबारेमा लेखिएको हाम्रो यो लेख  पढ्नुहोस् |

 

यसमा तपाईको मत