ग्याजेट विशेष

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

  नागरिक   2020-01-22

वाइफाई सम्बन्धि उच्च प्राविधिक ज्ञान भएकाहरुले वाइफाई ह्याक सजिलै गर्न सक्छन । अझ प्राविधिक ज्ञान खासै नभएकाले पनि इन्टरनेटमा उपलब्ध विभिन्न सफ्टवेयरहरुको सहयोगबाट तपाईंको वाइफाई ह्याक गर्न सक्छन । आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् :

१. WPS अप्सन अफ् गर्नुहोस्

राउटरको एडमिन पेज खोलेर त्यहाँ भएको WPS अप्सनलाई तुरुन्तै अफ् गर्नुहोस् । यो अप्सन अन भएको खण्डमा वाइफाई डम्पर जस्ता मोबाइल एपहरुले पनि तपाईंको वाइफाई ह्याक हुनसक्छ । राउटरको सेटअप पेज खोल्नलाई ब्राउजरमा १९२.१६९.०.१ अथवा १९२.१६८.१.१ हान्नुहोस् । त्यहाँ आवश्यक परे अनुसारको युजरनेम र पासवर्ड हान्नुहोस् र WPS भन्ने अप्सनलाई बन्द गरिदिनुहोस् ।

२. जटिल पासवार्ड राख्नुहोस्

वाइफाईको पासवर्ड अलि जटिल र युनिक राख्नाले ह्याकरहरुलाई ह्याक गर्न गाह्रो हुन्छ । सकेसम्म वाइफाईको पासवर्ड धेरै अक्षरहरुको राख्नुहोस् । धेरै अक्षरको मात्र नभएर वाइफाईको पासवर्डमा अंक, चिन्ह र क्यापिटल अक्षरहरु मिसाउने गर्नुहोस् । धेरै सजिलैसंग अनुमान लगाउन मिल्ने किसिमको पासवर्डहरु नराख्नुहोस् ।

उदाहरणका लागि : nepal123 , 12345678, asdfghjkl, password आदि जस्ता पासवर्ड निकै कम्जोर पासवर्ड हुन् । यस्ता पासवर्ड ह्याकरले सजिलै ह्याक गर्न पनि सक्छन् र साधारण व्यक्तिले पनि अनुमान लगाउन सक्छन् ।

जटिल पासवर्ड बनाउनका लागि अंक र अक्षरलाई उस्ता उस्तै देखिने चिन्हले प्रतिस्थापन गर्न सकिन्छ । उदाहरणका लागि nepal123 को सट्टा n3p@!123 राखे मात्रै पनि तपाईंको वाईफाईको पासवर्ड निकै जटिल हुन जान्छ र साधारण व्यक्तिले अनुमान लगाउन सक्दैन ।

३. वाइफाईको नाम अलि युनिक राख्नुहोस्

वाइफाईको पासवर्ड मात्र नभएर वाइफाईको नाम पनि जटिल र युनिक राख्नु उचित हुन्छ । वाइफाईको नामलाई SSID भनेर चिनिन्छ । WPA र WPA2 स्तरको सुरक्षा ह्याक गर्ने बेलामा उक्त ह्याक गर्ने एल्गोरिदमले वाईफाईको पासवर्ड मात्र नभएर वाइफाईको नामलाई पनि प्रोसेस गर्नुपर्ने हुन्छ । वाइफाईको नाम नै युनिक राखे पछि ह्याकरहरुलाई  ह्याक गर्न अलि गाह्रो हुन्छ ।

नेपालको खण्डमा वाइफाईको नाम रोमनिक नेपालीमा लेख्नु राम्रो हुन्छ । यस्ता नामहरु ह्याकरको डेटाबेसमा हुँदैनन् ।


४. MAC फिल्टर गर्नुहोस्

हरेक इन्टरनेटमा जडान हुने वायरलेस उपकरणको आफ्नै युनिक MAC एड्रेस हुन्छ । तपाईंले प्रयोग गर्ने मोबाइल, ल्यापटप, राउटर, स्मार्टवाच आदि सबैको आफ्नै आफ्नै MAC एड्रेस हुन्छ । यहि MAC एड्रेसलाई प्रयोग गरेर फिल्टर गर्ने तरिकालाई नै MAC फिल्टर गरेको भनिन्छ । यसबाट तपाईंले चाहेको उपकरण मात्र तपाईंको वाइफाईमा जडान गर्न सक्छ, अन्यथा जडान हुन सक्दैन । MAC फिल्टर गर्न ब्राउजरमा १९२.१६९.०.१ अथवा १९२.१६८.१.१ हान्नुहोस् र सेटअप पेज खोल्नुहोस् । त्यहाँ MAC फिल्टरको विकल्प भएको स्थानमा गएर आफूलाई जडान गर्न मन हुने उपकरणको मात्र MAC एड्रेस हान्नुहोस् र Allow मा क्लिक गर्नुहोस् । यसबाट ह्याकरहरुले चाहेर पनि तपाईंको वाइफाई ह्याक गर्न सक्दैनन् ।


५. अन्य साना कुराहरु

  • पासवर्ड राख्दा WPA/WAP2 चयन गर्नुहोस्
  • राउटरलाई अनधिकृत व्यक्तिहरुको पहुँचबाट टाढा राख्नुहोस्
  • राउटरको पासवार्ड प्राय : परिवर्तन गरिरहनुहोस्

 

 

यसमा तपाईको मत