ग्याजेट विशेष

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

  नागरिक   2019-04-20

सामसंगले आफ्नो पहिलो फोल्डिंग डिस्प्ले भएको स्मार्टफोन, ग्यालेक्सी फोल्ड रिलिज गरेर संसारलाई चकित बनाएको थियो । फोल्डिंग डिस्प्ले भएको र बजारमा रिलिज हुने पहिलो स्मार्टफोन हो सामसंगको ग्यालेक्सी फोल्ड - र यस स्मार्टफोनको मूल्य २००० अमेरिकी डलर तोकिएको छ । यस स्मार्टफोनलाई फोल्ड गरेर सानो स्मार्टफोन जस्तै प्रयोग प्रयोग गर्न मिल्छ भने अन्फोल्ड गरेर ट्याब्लेट जसरि प्रयोग गर्न मिल्छ । अन्फोल्ड गर्दा डिस्प्लेको बीचमा डिस्प्ले थोरै उठेको जस्तो देखिन्छ । उक्त उठेको भाग नै यस स्मार्टफोनको सबैभन्दा कमजोर भाग भएको पाइएको छ । 

सामसंगले रिभ्युका लागि पठाएको केहि ग्यालेक्सी फोल्ड स्मार्टफोनमा समस्या देखिन थालेको हो । द भर्जलाई रिभ्यु र समिक्षाका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ । उक्त स्मार्टफोनको डिस्प्लेको बीच भागमा सेतो धर्को सिर्जना भएको छ । 

यसै गरि ट्वीटर प्रयोगकर्ता स्टेभ कोभाकको पनि डिस्प्लेको देब्रे पट्टिको भाग नै पुरै सेतो रंगको भएको । उनीले आफ्नो ट्वीटर अकाउन्टमा १ दिन कै प्रयोगमा यस्तो भएको भन्दै सानो भिडियो पनि अपलोड गरेका छन् । 

यसै गरि ट्वीटर प्रयोगकर्ता मार्क गरमानको डिस्प्ले पनि प्रयोग गर्न नमिल्ने भएको छ । उनीले स्मार्टफोनको डिस्प्लेमा पहिल्यैबाट सेट भएर आएको स्क्रिन प्रोटेक्सन हटाउन खोज्दा यस्तो भएको भेटिएको छ । 

निकै प्रचलित यूट्युबर मार्किस ब्राउनलीले पनि डिस्प्लेमा भएको प्रोटेक्सन लेयर निकाल्न खोज्ने क्रममा डिस्प्ले नै बन्द भएको छ । उक्त प्रोटेक्सन कभर स्क्रिन प्रोटेक्टर नभई, स्क्रिन कै एउटा अंग हो । तर हेर्दा स्क्रिन प्रोटेक्टर जस्तै देखिने भएकाले र यो विषयमा सामसंगले कुनै पनि पूर्व जानकारी नदिएकाले धेरैले यस्तो स्क्रिन प्रोटेक्टर निकाले जसले गर्दा डिस्प्लेले काम गर्न छाड्यो ।

यस विषयले चर्चा पाएपछि सामसंगले आधिकारिक प्रतिक्रिया प्रकाशन गरेको छ । प्रकाशित प्रतिक्रियामा सामसंगले यस समस्यालाई राम्रोसँग निरीक्षण गर्ने कुरामा प्रतिवद्धता देखाएको छ । उपभोक्तालाई खरिदका लागि उपलब्ध हुने ग्यालेक्सी फोल्डमा डिस्प्ले प्रोटेक्टर सम्बन्धि जानकारी राखिएको हुनेछ । 
 

यसमा तपाईको मत