ग्याजेट विशेष

PUBG ( पब्जी ) खेलको विकल्पहरू

  नागरिक   2019-04-13

नेपालमा पब्जीमा प्रतिबन्ध पब्जी खेल्न रुचाउनेहरूलाई खल्लो समाचार बन्यो । पब्जी अर्थात् प्लेयर अननन् ब्याटल ग्राउन्ड (PUBG) । यो गेम सन् २०१५ मा कम्प्युटरका लागि रिलिज भएको थियो । यो गेमले कम्प्युटरमा तीन करोड प्रयोगकर्ता कमाएपछि यही चर्चालाई पछ्याउँदै चिनियाँ कम्पनी टेनसेन्टले २०१८ मा यसको मोबाइल फोन भर्सन रिलिज गरेको थियो । यसको गेमप्ले ठ्याक्कै कम्प्युटरको सँग मिल्दो छ । यसको ग्राफिक्सको गुणस्तर आजभन्दा ४–५ वर्ष अगाडि कम्प्युटरका लागि बन्ने गेमको जस्तो अब्बल छ । प्लेस्टोर र एप स्टोरमा निशुल्क उपलब्ध रहेको यो गेम अब नेपालबाट डाउनलोड गर्न नमिल्ने भएको छ । यहि गेमको विकल्पहरू यहाँ उल्लेख गरिएको छ । 

१. रुल्स अफ सर्भाईवल (Rules of Survival)

रुल्स अफ सर्भाईवल पब्जी पछिको गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध भएको प्रचलित गेम हो । यस गेमको गेमप्ले ठ्याक्कै पब्जीसँग मिल्दो छ । पब्जी खेल खेलिरहेकाहरूलाई यो गेम खेल्न केहि गाह्रो लाग्ने छैन । यस गेममा पनि पब्जीमा जस्तै एउटा स्थानमा १२० जना खेलाडीहरूलाई राखिन्छ र अन्तिमसम्म बाच्न सक्ने खेलाडी नै विजयी बन्छ । 
 
२. फ्री फायर (Freefire)

फ्री फायर गेम पब्जी जस्तै देखिने गेम हो तर यस गेममा १०० जना खेलाडीको सट्टा केवल ५० जना मात्र खेलाडी हुन्छन र १० मिनटको समय सिमा हुन्छ । यस गेममा पनि पब्जीजस्तै उत्कृष्ट ग्राफिक्स छ । पब्जी रुचाउनेहरूले यो गेम पनि अवश्य रुचाउने छन् । यो गेम प्ले स्टोर र एप स्टोरबाट नि-शुल्क डाउनलोड गर्न सकिन्छ । 

३. फर्टनाइट ( Fortnite )

पब्जी पछिको सबैभन्दा प्रचलित ब्याटल रोयल गेम हो फर्टनाइट । पब्जीकै गेमप्लेमा आधारित भएर बनाइएको यो गेम अहिले कम्प्युटर र कन्सोल गेमिंगको सबैभन्दा ठूलो चर्चाको विषय बनेको छ । सबै प्लेटफर्ममा निःशुल्क उपलब्ध यो गेम अहिले विश्वकै सबैभन्दा प्रचलित गेममध्ये एक रहेको छ । यो गेमको ग्राफिक्स पनि कम्प्युटरको संस्करणसँग मिल्दो छ र गेमप्ले पनि उस्तै छ । एन्ड्रोइड, iOS लगायत यो गेम एक्सबक्स वन, प्लेस्टेसन फोर, स्विच र कम्प्युटरमा उपलब्ध छ । यो गेम प्ले स्टोरमा उपलब्ध छैन , यो गेम डाउनलोड गर्नका लागि फर्टनाइटको निर्माता एपिकको वेबसाइटमा जानु पर्ने हुन्छ । आइफोनमा भने एप स्टोरबाटै डाउनलोड गर्न सकिन्छ ।  यो गेमको ग्राफिक्स निकै अब्बल भएका कारणले पनि यो गेम चलाउनका लागि उच्चस्तरीय स्मार्टफोनको आवश्यकता पर्छ । 

४. क्रसफायर लेजेन्ड्स ( CrossFire Legends )

पब्जी गेम कै निर्माता अर्थात् टेनसेन्टले रिलिज गरको उच्चस्तरीय ग्राफिक्स र गेमप्ले भएको गेम हो क्रसफायर लेजेन्ड्स । यो गेममा पब्जीको जस्तो ब्याटल रोयल मोड लगायत अन्य निकै रमाइलो मोडहरु पनि छ जस्तै म्युटेन्ट मोड र टिडीएम । यी दुवै निकै रमाइलो र ब्याटल रोयल मोडमा नयाँ ट्वीस्ट दिने गेमका मोडहरू हुन् । 

५.  पिक्सल अननन् ब्याटल ग्राउन्ड ( Pixel Unknown Battle Ground )

पब्जी खेल्नका लागि २ जीबी भन्दा बढी र्याम भएको स्मार्टफोन चाहिन्छ । पिक्सल अननन् ब्याटल ग्राउन्ड निकै कम साइजको र माइनक्राफ्ट जस्तो पिक्सल आर्ट ग्राफिक्स भएको गेम हो जुन जस्तो सुकै पुरानो र थोरै र्याम भएको स्मार्टफोनमा पनि चल्न सक्छ । यो गेम पनि प्ले स्टोर र एप स्टोरबाट नि- शुल्क डाउनलोड गर्न सकिन्छ । यो गेमको कम्प्युटर भर्सन पनि उपलब्ध छ । यो गेम प्ले स्टोर र एप स्टोरबाट नि-शुल्क डाउनलोड गर्न सकिनेछ । 

६. कल अफ ड्युटी ( Call Of Duty Mobile )

कल अफ ड्युटी फर्स्ट पर्सन सुटरको निकै प्रचलित गेम सिरिज हो । हरेक वर्ष कल अफ ड्युटीका नयाँ र प्रचलित गेमहरू कम्प्युटर र कन्सोलमा रिलिज हुने गर्दछ र अबको केहि समयमा कल अफ ड्युटीको मोबाइल संस्करण पनि रिलिज हुन लागेको छ । यो गेम पब्जीजस्तो ब्याटल रोयल गेम नभए पनि टिम डेथ म्याच र फ्रन्टलाइन जस्ता मोडहरू हुनेछन् जुन साथीहरूसँग खेल्न निकै रमाइलो हुनसक्छ । हाल बेटा संस्करणमा रहेको यस गेम गुगल प्ले स्टोर र एप स्टोरमा रिलिज हुनेछ । 
 

यसमा तपाईको मत