ग्याजेट विशेष

नयाँ आइफोनमा छन् समस्या नै समस्या

  नागरिक   2018-10-02

केहि साता अगाडी घोषणा गरेर गत साता रिलिज गरिएको आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन् र उक्त आइफोनका प्रयोगकर्ताहरुले गुनासो गरिरहेका छन् | कुनै समस्या सबै आइफोनमा आएका छन् भने कुनै चाहिँ केहि प्रयोगकर्ताले मात्र भेटेका छन् |

 यस्ता छन् चर्चामा आएका समस्याहरु

१. निकै ढिलो चार्ज हुने

नयाँ आइफोनका मोडलमा एप्पलले फास्ट चार्जर उपलब्ध गराएको छैन | नयाँ आइफोन , जसलाई १००० अमेरिकी डलरभन्दा बढी पर्छ, मा निकै स्लो ५ वाटको चार्जर उपलब्ध गराइएको छ | यस चार्जरबाट आइफोन फुल चार्ज हुन दुई घण्टाभन्दा बढी लाग्छ जुन निकै निकै ढिलो हो | तुलनाका लागि भिभोको नयाँ फ्ल्याग्शिप स्मार्टफोन फुल चार्ज हुन केवल ३१ मिनट लाग्छ भने वनप्लसलाई ५० मिनट |

धेरै जसो मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनमा पनि फास्ट चार्ज उपलब्ध गराइएको हुने गर्दछ तर एप्पलले त्यति धेरै महँगो स्मार्टफोनमा पनि फास्ट चार्ज उपलब्ध नगराएकाले प्रयोगकर्ताहरु निकै असन्तुष्ट छन् | यस विषयमा एप्पलको फोरममा र रेडीटमा निकै धेरै विरोध भइरहेको छ |

स्रोत : Forbes

२. चार्ज नै नहुने समस्या

ढिलो चार्ज भएर मात्र होइन एप्पलको नयाँ आइफोनमा चार्ज नै नहुने समस्या पनि देखिएको छ | थुप्रै प्रयोगकर्ताका नयाँ मोडलका आइफोन चार्जमा जोडेर स्क्रिनलाई अनलक नगर्दासम्म चार्ज नै हुँदैन | चार्जमा जोडे पनि चार्ज नहुने र चार्ज भए पनि निकै ढिलो हुने समस्या नयाँ मोडलको आइफोन प्रयोगकर्ताले भोग्नु परेको छ | यस बारे चर्चा यूट्यूबका निकै प्रचलित यूट्यूब च्यानल “अन्बक्स थेरापी” का मार्फतबाट भएको थियो | यस विषयमा पनि निकै धेरै प्रयोगकर्ताले एप्पलको फोरममा गुनासो राखेका छन् |

स्रोत: The Verge, Unbox Therapy

३. अफ् गर्नै नमिल्ने ब्युटी मोड
 


आजभोलि ब्युटी मोड लगभग सबै जसो एन्ड्रोइड स्मार्टफोनमा हुने गर्छ | ब्युटी मोडमा खिचेको स्लेफीमा मुहार अति गोरो हुन्छ र तस्विर एकदमै अप्राकृतिक देखिन्छ  |  एन्ड्रोइडमा भने उक्त ब्युटी मोडलाई पूर्ण रुपमा बन्द गर्न मिल्छ | नयाँ आइफोनमा भने ब्युटी मोड भन्ने कुनै अप्सन नै छैन तर पनि खिचिएका सबै सेल्फीहरुमा अटोमेटिक ब्युटी मोड अन हुन्छ | अनावश्यक र अफ् गर्नै नमिल्ने ब्युटी मोडको विषयमा पनि प्रयोगकर्ताले एप्पलको फोरममा गुनासो गरेका छन् |

स्रोत : Unbox Therapy, Business Insider


४. डिस्प्लेमा ब्लु सिफ्ट

नयाँ आइफोनमा एप्पलले AMOLED डिस्प्ले राखेको छ | सामसंग र नोकियाले एक दशक देखि प्रयोग गर्दै आएको यस डिस्प्ले प्रविधि एप्पलले गत वर्षबाट मात्र आइफोनमा समावेश गरेको छ |

तर एप्पलले प्रयोग गरेको AMOLED डिस्प्लेमा चाहिँ ब्लु सिफ्टको समस्या रहेको कुरा केहि प्रयोगकर्ताले गुनासो गरेका छन् | आइफोनको डिस्प्लेलाई केहि छेउबाट हेर्दा सेतो रंग फिक्का निलो देखिन थाल्छ | यहि समस्या गत वर्ष गुगलको पिक्सलमा र कुनै कुनै आइफोन X मा पनि आएको थियो | यो समस्या सम्भवत: आगामी iOS अपडेटबाट समाधान हुनेछ |

स्रोत : Reddit, Macrumors Forum, Total Tech

५. निकै स्लो नेटवर्क स्पिड

प्रयोगकर्ताले एप्पल आइफोन Xs र Xs म्याक्सको वाईफाई र नेटवर्क स्पिड पुरानो आइफोन X को तुलनामा भन्दा आधा स्लो भएको भेटेका छन् | यस लगायत नयाँ आइफोनमा कनेक्ट भएको वाईफाई बेला बेलामा काटिने र फेरी रिस्टार्ट नगर्दासम्म फेरी कनेक्ट नै नहुने समस्या पनि देखिएको छ |

एप्पलले यस वर्ष निकालेको आइफोनमा सम्भवत: यस वर्षको कुनै पनि फ्ल्याग्शिप स्मार्टफोनभन्दा धेरै समस्याहरु देखिएको छ | माथि उल्लिखित केहि समस्याहरु iOS अपडेट मार्फत समाधान हुनेछन् भने स्लो नेटवर्क स्पिड र स्लो चार्जको समस्या भने अपडेटबाट समाधान हुने छैन | तर उक्त अपडेट एप्पलले कहिले रिलिज गर्छ भन्ने कुराको चाहिँ टुंगो छैन |


स्रोत : Apple Discussions, The Verge

 

यसमा तपाईको मत