ग्याजेट विशेष

कुन प्रोसेसर भएको ल्यापटप किन्ने ?

  नागरिक   2018-09-16


ल्यापटप खरिद गर्न कुनै पसल जानुभयो भने तपाईंलाई सबैभन्दा पहिलो प्रश्न ‘कुन प्रोसेसर भएको ?’ भनेर नै सोधिने छ । किनभने ल्यापटप र कम्प्युटरमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै उक्त ल्यापटप र कम्प्युटरको प्रोसेसर हो । यस लेखबाट तपाईंले प्रोसेसर के हो, प्रोसेसरको काम र तपाईंको आवश्यकता अनुसार कुन प्रोसेसर उपयुक्त हुन्छ भन्ने कुराको जानकारी पाइन्छ ।

के हो प्रोसेसर ?

साधारण भाषामा भन्दा प्रोसेसर कम्प्युटरको मष्तिस्क हो । सबै कम्प्युटरको काम प्रोसेसरले नै नियन्त्रण गर्छ । जति शक्तिशाली र फास्ट प्रोसेसर, त्यत्ति नै फास्ट कम्प्युटर ।
बजारमा दुई मुख्य प्रोसेसर निर्माता – इन्टेल र एएमडीले हरेक वर्ष कम्प्युटर र ल्यापटपका लागि नयाँ र अपडेट गरेको प्रोसेसर रिलिज गर्छन् । नेपाली बजारमा चाहिँ इन्टेलको प्रोसेसर निकै प्रचलित छ । यति भन्दैमा एएमडीको प्रोसेसर नराम्रो भएको चाहिँ होइन ।
दुवै निर्माताले डेस्कटप कम्प्युटरका लागि पनि प्रोसेसर रिलिज गर्ने भए तापनि हामी यो लेखमा ल्यापटप कै प्रोसेसरमा सीमित हुन्छौं । यहाँ उल्लेख गरिएका कुराहरु डेस्कटप प्रोसेसरमा सान्दर्भिक नहुन पनि सक्छ ।


ल्यापटपमा प्रोसेसर


ल्यापटपमा राखिने प्रोसेसरहरु डेस्कटपको तुलनामा निकै कम ऊर्जा खपत गर्ने हुन्छन्, जसले गर्दा ल्यापटपका प्रोसेसरहरु डेस्कटपको तुलनामा स्लो पनि हुन्छन् । साधारण ल्यापटपमा राखिने प्रोसेसरको ऊर्जा खपत १५ वाट हुन्छ भने डेस्कटपको कममा ४५ वाटदेखि १०० वाटसम्म पनि हुन सक्छ । गेम खेल्नलाई बनाइएका ल्यापटपमा सामान्यतया ४५ वाटको प्रोसेसर राखिएको हुन्छ जुन फास्ट हुन्छ, तर यस्ता ल्यापटपको ब्याट्री खासै टिक्दैन ।
 

ल्यापटपमा प्रोसेसरले यी कुराहरुलाई असर गरिरहेको हुन्छ :


१. ब्याट्री लाइफ
नयाँ र कम वाटका प्रोसेसर भएका ल्यापटपको ब्याट्री लाइफ पुराना र धेरै वाटको ल्यापटपको तुलनामा निकै धेरै हुन्छ । यदि तपाईंलाई परफरमेन्सभन्दा ब्याट्री लाइफ प्यारो छ भने कम सकेसम्म नयाँ मोडलको र कम वाटको प्रोसेसर भएको ल्यापटप किन्नुस् ।


२. परफरमेन्स
ल्यापटपको परफरमेन्स र स्पिड लगभग सबै प्रोसेसरमै निर्भर हुन्छ । धेरै परफरमेन्स चाहिएको छ भने धेरै कोर भएका र धेरै वाटका प्रोसेसर खरिद गर्नुहोस् ।


३. ताप
ल्यापटप चलाउँदा निस्कने तापको मुख्य स्रोत नै प्रोसेसर हो । थोरै वाटको प्रोसेसरले कम ताप निकाल्छ । धेरै ताप भएमा ल्यापटपको ब्याट्री लाइफ पनि कम हुन्छ ।


४. मूल्य
ल्यापटपको मूल्यलाई प्रत्यक्ष असर ल्यापटपको प्रोसेसरले गर्छ । नयाँ र अब्बल प्रोसेसर भएका ल्यापटप स्लो प्रोसेसर भएका ल्यापटपका तुलनामा निकै महँगा हुन्छन् ।

 

यसमा तपाईको मत