ग्याजेट विशेष

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

  नागरिक   2019-10-21

कम्प्युटरका लागि निकै प्रचालित र उपयोगी फोटो एडिट गर्ने सफ्टवेयर “एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ । एडोब फोटोशपको प्रयोग लाखौंजनाले दिन कै ग्राफिक डिजाइन गर्न र फोटो एडिट गर्नका लागि प्रयोग गरेका हुन्छन । कम्प्युटर मै भएको जस्तो फिचरयुक्त एडोब फोटोशप पहिलो पटक कुनै मोबाइल प्रोसेसर भएको ट्याब्लेटमा रिलिज हुन लागेको हो ।

यो नयाँ संस्करणको फोटोशप एप्पलको आइप्याडको लागि एप स्टोरमा चाडैं नै रिलिज हुने कुरा ब्लुम्बर्गको एक रिपोर्टमा उल्लेख गरिएको छ । एडोबले केही महिना अगाडी यस फोटोशपको संस्करणमा कम्प्युटरमा भए जस्तै फिचरहरू हुने दाबी गरेको थियो । तर कम्प्युटरको फोटोशप संस्करणमा हुने सम्पूर्ण फिचरहरू यस आइप्याडको संस्करणमा उपलब्ध नभएको जानकारी ब्लुम्बर्गले दिएको छ ।

ब्लुम्बर्गले यस आइप्याडको  संस्करणमा कतिपय महत्त्वपूर्ण फिचरहरू छुटेको र कम्प्युटरका फिचरहरूसँग सम्पूर्ण फिचरहरू नमिलेको भन्दै गुनासो गरेको छ । आइप्याडमा पहिले देखि नै एफिनीटि फोटो, प्रोक्रिएट आदी जस्ता उच्चस्तरीय फोटो एडिटिंग एपहरू उपलब्ध छ जससँग यो नयाँ फोटोशपले प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।

कम्प्युटरमा फोटोशप प्रयोग गर्दै आएका प्रयोगकर्ताहरूले यो नयाँ संस्करणलाई सहजताका साथ सिक्न र चलाउन सक्नेछन् । कम्प्युटरको संस्करणको तुलनामा केही फिचरहरू कटौती गरिएता पनि यो संस्करण हालै स्मार्टफोनका लागि उपलब्ध भएका फोटोशपहरूभन्दा निकै उन्नत हुनेछ ।

प्रयोगकर्ताहरूले टचस्क्रिन र एप्पल पेन्सिलको सहायताबाट यस फोटोशप संस्करणलाई प्रयोग गर्न सक्नेछन् । तर यो संस्करण कुन कुन मोडलको आइप्याडमा उपलब्ध हुनेछ भन्ने कुराको जानकारी अझै उपलब्ध गराइएको छैन ।

आइप्याडका लागि फोटोशप प्रयोग गर्नलाई प्रयोगकर्ता एडोब क्रियटिभ क्लाउडको मासिक सदस्य बन्नु पर्ने हुन्छ ।


 

 

यसमा तपाईको मत