ग्याजेट विशेष

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

  नागरिक   2019-07-21

इन्स्टाग्रामले इन्स्टाग्राममा अपलोड गरिएका फोटोहरूमा आएको कुल लाइकको संख्यालाई सार्वजनिक रूपमा नदेखाउने फिचरको चेकजाँच गरिरहेको छ । यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ - अष्ट्रेलिया, जापान, क्यानडा, आयरल्याण्ड, इटाली, ब्राजिल र न्यूजिल्याण्ड । गत अप्रिल महिनामा क्यानडाबाट सुरु गरिएको यस फिचरलाई हालै अन्य ६ वटा देशमा ल्याईएको हो ।

यी देशहरूमा रहेका इन्स्टाग्राम प्रयोगकर्ताहरूले यस फिचरबाट अप्ट आउट गर्न सक्नेछन् र पुन: लाइकको संख्याहरू हेर्न सक्नेछन् । तर डिफल्ट अर्थात् पूर्वनिर्धारित सेटिंग अनुसार भने यी ७ वटा स्थानमा लाइकको संख्यालाई लुकाइने छ ।

कुनै पनि तस्विर सार्वजनिकरुपमा उपलब्ध भएता पनि उक्त तस्विरमा कतिवटा लाइक आयो भन्ने कुरा तस्विर अपलोड गर्ने व्यक्तिले बाहेक अरु कसैले हेर्न पाउनेछैन ।

यस फिचरको परिक्षण गरिने कुरा फेसबुकले आफ्नो वार्षिक डेभलपर सम्मेलनमा सार्वजनिक गरेको थियो । फेसबुकका अनुसार यस फिचरले प्रयोगकर्तालाई “दबाब घटाउन” र “फोटोको लाइकमा भन्दा पनि फोटो र भिडियोले देखाउन खोजेको कुरामा ध्यान दिन” सहयोग पुर्याउने छ ।

इन्स्टाग्रामको फोटोमा आएको लाइकहरूले प्रयोगकर्ताको स्तर देखाउनका लागि प्रयोग गर्ने गरिन्छ । धेरै प्रचलित प्रयोगकर्ताहरूको धेरै नै लाइक आउने गर्दछ भने व्यक्तिगत रुपमा इन्स्टाग्राम मात्र प्रयोग गर्न रुचाउने व्यक्तिहरूको थोरै लाइक आउने गर्दछ । धेरै प्रचलित भएको व्यक्तिको तस्विरमा आएको  लाइकबाट व्यक्तिगत र साथीभाईहरूसँग जोडिनका लागि मात्र इन्स्टाग्राम प्रयोग गर्ने व्यक्तिहरू निरुत्साहित नहुन भन्दै यस फिचरलाई अगाडी सारिएको हो ।

यस फिचरलाई इन्स्टाग्रामले विश्वव्यापी रूपमा उपलब्ध गराएपछि इन्स्टाग्राम इन्फ्लुएनसर र इन्स्टाग्राम मोडलहरूको अन्त्य हुने कुरामा धेरैले विश्वास गरेका छन् । यो फिचर विश्वव्यापी रूपमा उपलब्ध हुन्छ कि हुँदैन भन्ने कुरा यही परिक्षणबाट टुंगो लाग्नेछ ।

स्रोत : बिबिसी

 

यसमा तपाईको मत