ग्याजेट विशेष

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

    2019-07-19

अमेरिकाले लगाएको प्रतिबन्धका कारणले गर्दा हुवावेले गुगलद्वारा निर्मित अहिलेको सबैभन्दा प्रचलित स्मार्ट फोन अपरेटिंग सिस्टम अर्थात् एन्ड्रोइडलाई आफ्नो स्मार्टफोनहरूमा प्रयोग गर्न नपाउने भएको थियो । उक्त प्रतिबन्ध लागे साथै  एन्ड्रोइडलाई टक्कर दिनका लागि  हुवावेले आफ्नै नयाँ अपरेटिंग सिस्टम बनाउने हल्ला फैलिएको थियो । दुई हप्ता अगाडी हुवावेलले केही देशहरूमा आफ्नो नयाँ होङमेङ्ग अपरेटिंग सिस्टम दर्ता गरेपछि यस हल्ला चुलिएको थियो । तर यस हल्लालाई शान्त बनाउदैं हुवावेका वरिष्ठ उपसभापति क्याथेरिन चेनले होङमेङ्ग अपरेटिंग सिस्टम स्मार्टफोनको लागि निर्माण नगरिएको कुराको पुष्टि गरेकी छिन् ।

टेकनोड़का अनुसार गत साता अध्यक्ष लियांग हुवाले हुवावेले एन्ड्रोइडको विकल्प अपरेटिंग सिस्टम बनाउने कुरा हालसम्म निश्चित नभएको  जानकारी प्रदान गरेका छन् । उनका अनुसार होङमेङ्ग अपरेटिंग सिस्टम स्मार्टफोनका लागि नभएर साना साना इन्टरनेट अफ थिन्ग्स अर्थात् IoT उपकरणहरूका लागि बनाइएको हो । होङमेङ्ग अपरेटिंग सिस्टमलाई स्मार्टफोनको अपरेटिंग सिस्टममा निर्माण गर्न सकिन्छ कि सकिदैन भन्ने कुराको अझै पनि टुंगो नलागेको कुरा हुवावेका अध्यक्षले जानकारी दिएका छन् । न्यून ल्याटेन्सी आवश्यक पर्ने र इन्टरनेटमा जडान हुने साना उपकरणहरूको लागि मात्र  होङमेङ्ग अपरेटिंग सिस्टमको निर्माण गरिएको कुराको जानकारी पनि हुवाले प्रदान गरेका छन् । हालको लागि हुवावेको होङमेङ्ग अपरेटिंग सिस्टम औद्योगिक क्षेत्रको प्रयोगमा मात्र सिमित हुनेछ ।

हुवावेको अध्यक्षको वक्तव्य र गत जुन महिनामा हुवावे कै संचार उपसभापतिले दिएको वक्तव्यमा भने एकआपसमा विरोधाभास देखिएको छ । गत जुनमा रिउटर्ससँग कुरा गर्दै एन्ड्रीउ विल्लियमसनले हुवावेले एन्ड्रोइड अपरेटिंग सिस्टमको विकल्प अबको केही महिना मै निकाल्ने कुराको जानकारी प्रदान गरेका थिए । उनले नै होङमेङ्ग अपरेटिंग सिस्टम उक्त समयमा चिनमा परिक्षण भइरहेको कुराको जानकारी दिएका थिए । हुवावे कै उपभोक्ता विभाजनका मुख्य कार्यकारी अधिकारीले पनि हुवावेले आफ्नो स्मार्टफोनमा एन्ड्रोइड बाहेक अन्य अपरेटिंग सिस्टम प्रयोग गर्न तैयार रहेको कुराको जानकारी प्रदान गरेका थिए ।

गत जी ट्वान्टी सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले हुवावे माथिको प्रतिबन्धलाई फुकुवा गर्दै हुवावेले अमेरिकी कम्पनीहरूसँग पुन: व्यापार गर्न पाउने भनेका थिए । केही स्रोतका अनुसार हुवावेले अबको केही साता मै गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टमलाई पहिलेको जसरी नै प्रयोग गर्ने पाउने भएको छ ।

अरु नै कुनै नाम दिइएको र एन्ड्रोइडलाई टक्कर दिने  स्मार्टफोन अपरेटिंग हुवावेले निर्माण गर्दै छ कि छैन भन्ने कुराको हालै केही स्पष्टीकरण आएको छैन । गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टम प्रयोग गर्न पाउँदापाउँदै पनि हुवावेले आफ्नै अपरेटिंग सिस्टम निर्माण गर्छ कि गर्दैन भन्ने कुराको हालै केही टुंगो छैन ।

स्रोत: विभिन्न एजेन्सीहरू

 

 

 

 

यसमा तपाईको मत