ग्याजेट विशेष

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

  नागरिक   2020-04-21

हरेक कम्प्युटरको आधारभूत तत्व हो र्याम ( RAM ) । RAM मा कम्प्युटरको अपरेटिंग सिस्टम ( जस्तै विन्डोज ) देखि लिएर प्रयोगकर्ताले प्रयोग गर्ने सबै प्रोग्रामहरू लोड हुन्छ । कम्प्युटर अन गर्नासाथ हार्ड डिस्कबाट अपरेटिंग सिस्टमका लागि आवश्यक पर्ने फाइलहरू र्याममा सरुवा हुन्छ । र्याम कम्प्युटर सुचारु भएको बेलामा मात्र काम गर्छ भने कम्प्युटर अफ भएपछि र्याममा भएका सम्पूर्ण फाइलहरू स्वत डिलिट हुन्छ । 

र्यामको साइजलाई आजभोलि जीबीमा मापन गरिन्छ - केहि दशक अगाडी कम्प्युटरमा पनि केहि एमबीका र्यामहरू मात्र उपलब्ध हुने गर्दथ्यो । कम्प्युटरको जगतमा भएको प्रगति र विकासले गर्दा र्यामको मूल्य घट्दै गएको छ भने साइज पनि बढ्दै गएको छ । 

 

प्रयोगकर्ता अनुसार र्यामको आवश्यकता फरक 

 

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ ।

२ जीबी वा सो भन्दा कम - एक पटकमा एउटा मात्र प्रोग्राम चलाउने र क्रोम जस्ता ब्राउजरमा पनि ४-५ वटाभन्दा बढी ट्याब नखोल्ने प्रयोगकर्ताको लागि उचित 

 

४ जीबी : साधारण घरेलु प्रयोगका लागि, अफिसका वोर्ड, एक्सेल आदिका कामका लागि, विद्यार्थीका लागि, इन्टरनेट ब्राउज गर्नलाई उचित  । गेमिंग र फोटो - भिडियो एडिटिंगका लागि पर्याप्त नहुने ।

 

८ जीबी: अहिलेको लागि सबैभन्दा उचित मात्रको र्याम साइज, इन्टरनेट ब्राउज गर्दा २०-२२ वटा ट्याब खोले पनि स्लो नहुने, नयाँ गेमहरू खेल्न मिल्ने, फोटो र भिडियो एडिटिंगका लागि पनि उचित । नयाँ गेमहरू उच्च रेजोलुसनमा खेल्नका लागि, ठूला साइजका फोटोहरू एडिट गर्न, थ्रीडी मोडल गर्न र 4K रेजोलुसनमा भिडियो एडिट गर्न उचित नहुने ।

 

१२ जीबी देखि १६ जीबी सम्म: नयाँ गेमहरू उच्च गुणस्तर र रेजोलुसनमा खेल्न मन पराउनेका लागि, उच्च रेजोलुसनमा फोटो एडिटिंग, भिडियो एडिटिंग, थ्री डी मोडलिङ आदिका कामका लागि उचित हुने । साधारण प्रयोगका लागि आवश्यकताभन्दा बढी हुने 

 

१६ जीबी वा बढी : विज्ञान सम्बन्धि रिसर्चका लागि, सिमुलेसनका लागि र सर्भरहरूमा प्रयोग हुने । गेम खेल्नका लागि आवश्यकताभन्दा बढी हुने । 

 

धेरै जीबी र्यामको फाइदा के ?

- जति धेरै र्याम , त्यती नै धेरै प्रोग्रामहरु एकै पटकमा कम्प्युटरलाई स्लो नबनाइ चल्न सक्छ


- पर्याप्त र्याम भएको कम्प्युटरमा क्रोम र एज जस्ता इन्टरनेट ब्राउजरमा धेरै ट्याबहरू खोल्दा पनि ब्राउजर स्लो हुँदैन 


- नयाँ गेम खेल्नलाई औसतभन्दा बढी र्यामको आवश्यकता पर्छ


- फोटोसप, भिडियो एडिटिंग सफ्टवेयर जस्ता आदि सफ्टवेयर राम्रोसँग प्रयोग गर्नका लागि धेरै र्याम उपयोगी हुन्छ

 

जान्नु पर्ने अन्य कुराहरू 

- नयाँ स्लिम ल्यापटपहरूमा खरिद पछि र्याम थप्न वा फेर्न मिल्दैन, त्यसैले खरिदको समयमा नै आवश्यकता अनुसारको र्यामको साइज चयन गर्नु उचित हुन्छ । नयाँ खरिद गर्ने ल्यापटपमा थोरैमा पनि ८ जीबी र्याम भएको ल्यापटप किन्नु उचित


- गेम खेल्नका लागि वा अन्य प्रोफेसनल कार्यका लागि सिंगल च्यानल भन्दा डुयल च्यानल र्याम निकै राम्रो हुन्छ । यसर्थ, एउटा ८ जीबीको र्याम प्रयोग गर्नुको सट्टा दुईवटा ४-४ जीबीको र्याम प्रयोग गर्नु उचित हुन्छ 
- ल्यापटपको र्याम र डेस्कटपमा प्रयोग हुने र्याम भिन्न प्रकारको हुन्छ 


- DDR3 र DDR4 छुट्टाछुट्टै प्रकारका र्यामहरू हुन्, यिनीहरूलाई साटासाट गरेर प्रयोग गर्न मिल्दैन !


- र्यामको स्पिड पनि Mhz मा मापन गरिन्छ । जति धेरै Mhz , त्यति नै फास्ट र्याम 
 

यसमा तपाईको मत