ग्याजेट विशेष

कम्प्युटर र स्मार्टफोनमा गिगाहर्जको (GHz) अर्थ के ?

  नागरिक   2019-05-27

कुनै पनि कम्प्युटर, ल्यापटप वा स्मार्टफोनको स्पिडलाई चिनाउनका लागि गिगाहर्जको प्रयोग गर्ने गरिन्छ। व्यापारी देखि उपभोक्तासम्म सबैले यही गिगाहर्जको प्रयोग गरेर नै विद्युतीय उपकरणलाई बेच्न वा खरिद गर्न प्रयत्नशील हुन्छन् । तर गिगाहर्जको अर्थ र यस मानकसँग कुनै पनि कम्प्युटर, ल्यापटप वा स्मार्टफोन जस्ता ग्याजेटको स्पिडले कस्तो सम्बन्ध राख्छ भन्ने कुरामा भने धेरै जना ज्ञात हुँदैनन् । यही निकै प्रचलित तर निकै झुक्काउने शब्दको अर्थ के हो भन्ने बारेमा यहाँ चर्चा गरिएको छ ।

निकै साधारण भाषामा भन्नुपर्दा गिगाहर्ज को अर्थको एक अर्ब हर्ज जहाँ गिगाको अर्थ हो एक अर्ब । अब हर्ज भनेको के त ? गणित तर्फबाट नबुझी साधारण भाषामा भन्नु पर्दा - “एक सेकेन्डमा कति पटक?” भन्ने प्रश्नको उत्तरलाई नै हर्ज मान्न सकिन्छ । उदाहरणका लागि: १० हर्ज भन्नुको अर्थ हो एक सेकेन्डमा १० पटक, जसलाई अंग्रेजीमा फ्रिक्वेन्सी पनि भनिन्छ ।

प्रोसेसरसँग हर्जको सम्बन्ध ?

एउटा कुनै प्रोसेसर १ गिगाहर्जको छ भने उक्त प्रोसेसरले एक सेकेन्डमा १ अर्ब बराबरको प्रोसेसिंग साइकल पुरा गर्न सक्छ । प्रोसेसरले कुनै पनि काम गर्नका लागि आन्तरिक रूपमा प्रोसेसिंग साइकलको प्रयोग गरेको हुन्छ – यसर्थ एक सेकेन्डमा जति धेरै प्रोसेसिंग गर्ने क्षमता प्रोसेसरसँग हुन्छ, त्यति नै धेरै उक्त प्रोसेसरको स्पिड हुन्छ ।

जति धेरै गिगाहर्ज त्यति नै फास्ट प्रोसेसर र जति धेरै गिगाहर्ज त्यति नै धेरै उक्त प्रोसेसरको मूल्य र विद्युत खपत हुने गर्दछ । हाल कम्प्युटरमा २ गिगाहर्ज देखि ४ गिगाहर्जसम्मको स्पिड भएको प्रोसेसर खरिद गर्न सकिन्छ । नयाँ कम्प्युटर वा ल्यापटप खरिद गर्दा २ गिगाहर्ज वा सोभन्दा माथि स्पिड भएको र कम्तिमा पनि २ अथवा ४ वटा कोर समावेश प्रोसेसर भएको मोडल खरिद गर्नु राम्रो ठहरिन्छ ।

तपाईंले ख्याल गर्नु पर्ने कुरा :

१. गिगाहर्ज धेरै हुँदैमा कुनै एक प्रोसेसर अर्कोभन्दा फास्ट हुँदैन । प्रोसेसर फास्ट हुनलाई धेरै कोरको पनि आवश्यकता पर्छ । कम्प्युटरमा प्रोसेसर किन्दा वा ल्यापटप खरिद गर्दा धेरै गिगाहर्जभन्दा पनि धेरै कोर भएको ल्यापटप वा कम्प्युटर खरिद गर्न तर्फ लाग्नु उचित हुन्छ ।

२. कम्प्युटरको सन्दर्भमा “कति गिगाहर्जको प्रोसेसर ?” भन्ने प्रश्न जति महत्त्वपूर्ण हुन्छ, स्मार्टफोनमा सो कुराले खासै फरक पार्दैन । स्मार्टफोनको सन्दर्भमा उक्त स्मार्टफोनको स्पिड समीक्षाहरू पढेर नै स्मार्टफोन खरिद गर्नु उचित हुन्छ ।

३. पुराना मोडलका प्रोसेसरहरूको गिगाहर्ज वा फ्रिक्वेन्सी बढी भएपनि उक्त प्रोसेसरहरू स्लो नै हुन्छन् । नयाँ प्रविधि प्रयोग गरेर बनाइएका प्रोसेसरहरू कम फ्रिक्वेन्सीमा पनि राम्रोसँग चल्न सक्छन् ।

 

 

यसमा तपाईको मत