ग्याजेट विशेष

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

  नागरिक   2019-07-15

चिनिया स्टार्ट अप मेग्भीले फेस रेकग्नीसन अर्थात् अनुहार पहिचान गर्ने प्रविधिको सहायताबाट कुकुरको नाकको प्रिन्टको सहयताबाट कुकुरको पहिचान गर्ने प्रविधि विश्व बजारमा ल्याउन लागेको छ । यस कम्पनीले नै चिनिया  सरकारले संचालनमा ल्याएको निगरानी प्रोग्राम बनाएको हो । यस प्रविधिबाट व्यक्तिको पहिचान राम्रोसँग हुन सक्ने भएपछि नै अनुहार पहिचान गर्ने प्रविधिलाई अन्य प्राणीहरूको पहिचानको लागि विकास गर्न लागिएको हो ।

एबाकस न्युजका अनुसार, मेग्भीको यस प्रोग्रामले कुकुरको नाकको प्रिन्टको आधारमा कुकुरलाई छुट्टाउन सक्नेछ । हरेक मानिसको फिंगरप्रिन्ट अर्थात् औंलाको छाप बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । यही हरेक कुकुरको नाकको प्रिन्ट बेग्लाबेग्लै हुने विशेषतालाई नै प्रयोगमा ल्याउदै यस एपको निर्माण गरिएको हो ।

मेग्भी एपको प्रयोग गरेर कुकुरका हेरचाह गर्ने वालाले आफ्नो कुकुरको नाकको प्रिन्ट देखिने गरि फोटो अपलोड गर्न सक्नेछन् । उक्त एपले कुकुरको नाकको तस्विर विभिन्न एंगलहरूबाट खिच्न पठाउने छ । उक्त तस्विर मेग्भीले आफ्नो सर्भरमा इन्टरनेटको माध्यमबाट अपलोड गर्नेछ । मेग्भीका अनुसार यस एपले ९५ प्रतिशतसम्म सटिकताका साथ नाकको प्रिन्टको आधारमा कुकुरलाई पहिचान गर्न सक्नेछ । यस एपले हालसम्म १५ हजारभन्दा बढी हराएका कुकुरहरूलाई आफ्नो हेरचाह गर्ने व्यक्तिहरूसँग भेटाउन सफल भएको छ ।

प्राणीहरूको पहिचानका लागि अनुहार पहिचान गर्ने प्रविधिको प्रयोग भने केही नौलो कुरा होइन । विभिन्न वन्यजन्तुको अनुसन्धान र खोजीका लागि यस क्षेत्रमा आवद्ध अनुसन्धानकर्ताहरूले यस प्रविधिको प्रयोग गर्दै आएका छन् । अमेरिकामा पनि हराएका कुकुर र बिरालोहरू पत्ता लगाउने एप फाइन्डिंग रोभर प्रयोगमा आएको छ ।

मेग्भीका अनुसार चिनको सन्दर्भमा यस एपको प्रयोग हराएको कुकुरलाई आफ्नो हेरचाह गर्ने व्यक्तिसँग भेटाउनुको साथै अर्को पनि कार्यका लागि प्रयोग गरिनेछ । यस एपका निर्माता चिनको सरकारी निकायसँग निकट भएकाले चिन सरकारले आफ्नो कुकुरलाई राम्रोसँग हेरचाह नगर्ने व्यक्तिहरूलाई कारवाही गर्नका लागि प्रयोग गर्नेछ । कुकुरलाई  सडकमा फोहर गर्न दिने र सडकमा जथाभावी हिड्न दिने कुकुरका हेरचाह गर्ने व्यक्तिहरूलाई जरिवाना तिर्न लगाउनका लागि पनि चिनको सरकारले  यस एपको प्रयोग गर्नेछ  ।

स्रोत: एबाकस न्यूज 

यसमा तपाईको मत