ग्याजेट विशेष

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

  नागरिक   2020-03-31

हालसम्म ल्यापटपको सन्दर्भमा इन्टेलका प्रोसेसर नै निकै अब्बल हुँदै आएका थिए । AMD (एएमडी)ले इन्टेलको डेस्कटप प्रोसेसरलाई केही वर्ष अगाडी टक्कर दिए पनि ल्यापटपको प्रोसेसरलाई टक्कर दिन वा जित्न सकेको थिएन । तर हालै एएमडीको नयाँ फ्ल्याग्शिप ल्यापटप प्रोसेसर भएको ल्यापटपसँगै यस कुरामा परिवर्तन आएको छ । तसर्थ, संसार कै सबैभन्दा शक्तिशाली ल्यापटप प्रोसेसर पनि एएमडी कै भएको छ । डेस्कटप र सर्भर प्रोसेसरमा अहिलेको सबैभन्दा फास्ट प्रोसेसर पनि एएमडी कै रहेको छ ।

असुसको जेफाईरस जी १४ को रिलिजसँगै एएमडीको राइजेन ९ ४८०० HS पनि सार्वजनिक भएको छ । यो प्रोसेसरमा ८ वटा कोर र १६ वटा थ्रेड रहेका छन् । यो प्रोसेसर हाल ल्यापटपमा उपलब्ध प्रोसेसर मध्ये सबैभन्दा फास्ट प्रोसेसर रहेको छ । एएमडीले बजारमा उपलब्ध गराउने ल्यापटप प्रोसेसरहरू मध्ये यो प्रोसेसर सबैभन्दा फास्ट प्रोसेसर होइन । योभन्दा पनि फास्ट ल्यापटप प्रोसेसर बजारमा आउने कुरा एएमडीले जनाएको छ ।

यो प्रोसेसर इन्टेलको Core i9-9980HK भन्दा लगभग १० प्रतिशतले फास्ट रहेको छ । तर फास्ट हुँदा हुँदै पनि एएमडीको यस प्रोसेसरले इन्टेलको प्रोसेसरले भन्दा कम ताप पैदा गर्ने छ । इन्टेलको प्रोसेसरले ४५ वाट देखि ९० वाटसम्म उर्जा खपत गर्ने छ भने एएमडीको यस प्रोसेसरले केवल ३५ वाट मात्र उर्जा खपत गर्ने छ ।

थोरै उर्जा खपत गरेर र थोरै ताप पैदा गरेर पनि इन्टेलको सबैभन्दा महँगो ल्यापटप प्रोसेसरभन्दा २० प्रतिशतसम्म धेरै परफरमेन्स दिनु एएमडीको ठूलो उपलब्धि हो ।

एएमडीको यस प्रोसेसरले थोरै ताप पैदा गर्ने र थोरै उर्जा खपत गर्ने भएकाले पनि यो प्रोसेसरको प्रयोग भएका ल्यापटपहरू साना र स्लिम हुनेछन् भने सस्ता पनि हुनेछन् । यसै गरेर यी प्रोसेसरहरूमा पहिलेबाट नै शक्तिशाली ग्राफिक कार्ड समावेश गरिएको छ जसबाट प्रयोगकर्ताले गेम खेल्न वा भिडियो एडिट गर्न पनि सक्नेछन् । 

 

स्रोत : notebookcheck


 

यसमा तपाईको मत