ग्याजेट विशेष

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

    2019-04-08

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । फेसबुकले फेसबुकको तीन वटै मुख्य एपहरु : फेसबुक एप, फेसबुक मेसेन्जर र इन्स्टाग्रामलाई अब आउने अप्रिल ३० देखि विन्डोज फोनमा प्रयोग गर्न नमिल्ने बताएको छ । 

विन्डोज फोन प्रयोगकर्ताहरूले फेसबुक चलाउनका लागि फेसबुकको वेबसाइटमा जान सक्नेछन् । फेसबुक मेसेन्जर भने ब्राउजरबाट चलाउन नमिल्ने भएकाले अप्रिल ३० देखि विन्डोज फोनमा फेसबुक मार्फत मेसेज पठाउन र पाउन नमिल्ने भएको छ । इन्स्टाग्राम प्रयोगकर्ताहरूले चाहिँ इन्स्टाग्राम कै वेबसाइटबाट इन्स्टाग्राम चलाउन सक्नेछन् । 

माइक्रोसफ्टका अनुसार हालै प्रयोगमा आएका कुनै पनि विन्डोज फोन / विन्डोज मोबाइलले सन् २०१९ डिसेम्बर १० पछि कुनै पनि किसिमको सफ्टवेयर सपोर्ट पाउनेछैन । विन्डोज टेन मोबाइलका लागि माइक्रोसफ्टले सन् २०१७ को अक्टोबरमा भर्सन १७०९ रिलिज गरेको थियो जुन नै फिचर अपडेटमा आधारमा विन्डोज मोबाइलका लागि अन्तिम अपडेट थियो ।

विन्डोज फोनलाई लन्च हुने बेलामा आइफोन र एन्ड्रोइडको प्रतिस्पर्धी मानिएको थियो । फिनल्याण्डको निकै प्रचलित कम्पनी नोकियाले विन्डोज फोन मात्र रिलिज गर्ने भएपछि विन्डोज फोनको चर्चा बढ्दै गएको थियो । तर विन्डोज फोन र लुमियाले बजारमा सोचे जस्तो ख्याती कमाउन सकेन । जसको मुख्य कारण थियो विन्डोज फोनमा भएको एप ग्याप अर्थात् एन्ड्रोइड र आइफोनमा उपलब्ध भएका अधिकांस एपहरु विन्डोज फोनमा उपलब्ध थिएन । माइक्रोसफ्टको उच्च पहल पछि पनि विन्डोज फोन र पछि नाम परिवर्तन गरि विन्डोज मोबाइल १० ले बजार लिन सकेन र अन्ततः माइक्रोसफ्टको विन्डोज फोनको अन्त्य हुने निश्चित भयो । 

माइक्रोसफ्टले आफ्नो अपरेटिंग सिस्टमलाई नै अपडेट दिन बन्द गर्ने भएपछि अन्य एप निर्माताहरूले पनि विन्डोज फोनलाई सपोर्ट गर्न बन्द गर्नु स्वाभाविक नै हो ।


 

यसमा तपाईको मत