ग्याजेट विशेष

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

  नागरिक   2020-04-02

जर्मन रिसर्चरहरूले गरेको एक अनुसन्धानले कोरोनाभाइरस स्मार्टफोनको डिस्प्ले र अन्य सिसाको सतहमा ९ दिनसम्म बस्न सक्ने निष्कर्ष निकालेको छ । धातुको सतहमा पनि यो भाइरस ९ दिन सम्म नै बाँच्न सक्छ । कुनै पनि स्मार्टफोनमा धातु र सिसाको प्रयोग भएको हुनाले तपाईंको स्मार्टफोनले पनि कोरोनाभाइरसलाई ९ दिनसम्म बोकेको हुन सक्छ । यी उपकरणहरू कसरी सफा गर्ने भनेर पनि उक्त अध्ययनमा उल्लेख गरिएको छ ।  

स्मार्टफोन लगायात अन्य विद्युतीय ग्याजेट र उपकरणहरू - जस्तै ट्याब्लेट, क्यामरा, ल्यापटप आदिलाई पनि सफा राख्नु उचित हुन्छ र सफा गर्न निकै सजिलो पनि रहेको छ ।

उक्त अध्ययनका अनुसार डिस्प्ले र अन्य सतहलाई सफा गर्नका लागि ०.१% ब्लिच र लगभग ७० प्रतिशत इथानोलको ( रक्सी ) मिश्रण नै काफी छ । बजारमा पाइने ह्याण्ड स्यानीटाइजरमा यी कुराहरू पहिलेबाट नै हुने भएकाले डिस्प्ले सफा गर्नका लागि ह्याण्ड स्यानीटाइजर प्रयोग गरे हुने कुरा उक्त अध्ययनको निष्कर्षमा व्यक्त गरिएको छ ।

ह्याण्ड स्यानीटाइजरलाई कपडा वा पेपरमा स्प्रे गरेर  स्मार्टफोनको डिस्प्ले र अन्य सतहमा लगाउनुहोस् र  कम्तीमा १ मिनटसम्म सुक्न दिनुहोस् । एक मिनट पछि उक्त सतहलाई कपडाले वा टिस्यु पेपरले पुछ्नुहोस् । डिस्प्ले पुछ्न प्रयोग गरिएको पेपर वा कपडालाई सुरक्षितरूपमा फ्याक्नुहोस् ताकी सो कपडा वा पेपर पुन: प्रयोगमा नआओस ।

डिस्प्लेमा सिधै केमिकललाई हाल्नु उचित हुँदैन | सुरुमा कपडा वा पेपरमा लगाउनुहोस् अनि बल्ल उक्त कपडा वा पेपरले डिस्प्ले सफा गर्नुहोस् ।

कतिपय स्मार्टफोनहरूको डिस्प्ले, जस्तै आइफोनको डिस्प्लेमा, चिल्लो हुनबाट बचाउनका लागि बेग्लै लेपको प्रयोग गरिएको हुन्छ जसलाई ओलियोफोभिक कोटिंग भनिन्छ  । अत्यन्त कडा क्लिनर वा ब्लिचको प्रयोगले उक्त ओलियोफोभिक कोटिंगलाई नाश गर्न सक्छ र स्क्रिनको डिस्प्लेमा दाग देखिन सक्छ । त्यसैले कडा ब्लिच र केमिकलले बारम्बार स्क्रिनको डिस्प्ले सफा गर्नु पनि उचित हुँदैन ।

स्मार्टफोनलाई सफा गरेपछि आफ्नो हातलाई पनि सफा राख्नुहोस् । फोहर हातले नचलाएपछि स्मार्टफोनलाई बारम्बार सफा गरिरहनु पनि पर्दैन ।

यो लेखमा उल्लेख गरिएको अध्ययनलाई पूर्णरूपमा पढ्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् : JournalOfHospitalInfection

 

 

 

 

यसमा तपाईको मत