ग्याजेट विशेष

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

  नागरिक   2019-04-02

स्मार्टफोन क्यामराको गुणस्तरलाई मेगापिक्सलले मात्र नभएर थुप्रै अन्य कुराहरुले असर गरिरहेको हुन्छ । यहि कारणले नै कुन स्मार्टफोन राम्रो भन्ने कुराको सिधा अड्कल लगाउन मिल्दैन । 

DxOMark ले विगतको एक दशक देखि रिलिज भएका मुख्य मुख्य सम्पूर्ण स्मार्टफोनको क्यामरालाई टेस्ट गरेर उक्त क्यामरालाई अंक प्रदान गर्छ । उक्त अंक जति बढी, त्यति नै राम्रो क्यामरा । DxOMark को वेबसाइटमा हालै सबैभन्दा धेरै अंकका साथ उत्कृष्ट क्यामरा भएको स्मार्टफोन हो हुवावेको पी ३० प्रो ।

हुवावेले यो वर्ष रिलिज गरेको फ्ल्याग्शिप अर्थात् उच्चस्तरीय स्मार्टफोन हो पी ३० प्रो । यो स्मार्टफोनमा तीनवटा मुख्य क्यामराहरू राखिएको छ । यस स्मार्टफोनको मुख्य क्यामरा १/१.७ इन्चको ४० मेगापिक्सलको रहेको छ जसले सुपरस्याम्पल गरेको १० मेगापिक्सलको फोटो खिच्छ । अल्ट्रा वाइड अर्थात् फिल्ड अफ भ्यू बढी भएको १६ मिमि १/२.७ इन्चको २० मेगापिक्सलको सेन्सर छ । यी दुवै सेन्सरमा फेज डिटेक्सन अटोफोकस रहेको छ तर अप्टिकल इमेज स्टेबलाइजेसन चाहिँ ४० मेगापिक्सलको सेन्सरमा मात्र राखिएको छ ।

तेस्रो र सबैभन्दा अभिनव क्यामरा हो पेरिस्कोप लेन्स । उक्त लेन्स १२५ मिमि ८ मेगापिक्सलको छ भने सेन्सरको साइज १/४ इन्चको छ । यो लेन्सको सबैभन्दा अब्बल खुबी नै ५ गुणा सम्म जुम गरेर फोटो र भिडियो खिच्न सक्नु हो । अन्य निर्माताले केवल तीन गुणासम्म मात्र जुम गर्न मिल्ने स्मार्टफोन् रिलिज गर्न सकेका छन् तर हुवावेले नै अहिलेसम्म कै सबैभन्दा बढी ५ गुणासम्म जुम गर्न मिले स्मार्टफोनको क्यामरा सेन्सर आफ्नो स्मार्टफोनमा राखेको छ । 

DxOMark ले यस स्मार्टफोनको क्यामरालाई ११२ अंक दिएको छ, जुन अहिलेसम्म कै सबैभन्दा धेरै हो । गत वर्षदेखि नै हुवावेले उत्कृष्ट स्मार्टफोनको क्यामरा हुनमा सफल हुँदै आएको छ । DxOMark को उच्च ५ मा हुवावेको तीनवटा स्मार्टफोन रहेका छन् - प्रथम, दोस्रो र तृतीय स्थानमा सबै हुवावे कै स्मार्टफोन छ । दोस्रो र तृतीय स्थानमा भएको हुवावेको क्यामरा अंकलाई टक्कर दिँदै सामसँगको ग्यालेक्सी एस १० प्लसको क्यामरा छ । यी तीनै स्मार्टफोन क्यामराको अंक १०९ रहेको छ । पाँचौं स्थानमा १०७ अंक सहित सायोमीको मि ९ छ । DxOMark को उत्कृष्ट ५ मा एप्पलको कुनै पनि आइफोन परेको छैन ।
 

स्रोत : DxOMark

यसमा तपाईको मत