ग्याजेट विशेष

एप्पल आइफोनको लागि नयाँ सफ्टवेयर

  नागरिक   2018-06-14

हरेक जस्तै यस वर्षको WWDC मा पनि एप्पलले आफ्नो आइफोन र आइप्याडको लागि नयाँ iOS को संस्करणमा के कस्ता फिचरहरु आउदै छन् भन्ने कुराको जानकारी दिएको छ | iOS १२ पूर्ण रुपमा चाहीं नयाँ आइफोनसंगै लन्च हुने गर्दछ र त्यस अगाडि नै एप्पलले प्रयोग र परीक्षणका लागि बेटा संस्करण उपलब्ध गराउछ | यस संस्करण iOS ११ पाएका सम्पूर्ण आइफोन र आइप्याडले पाउने छन् जसमा आइफोन 5s भन्दा नयाँ आइफोन र आइप्याड ४ भन्दा नयाँ आइप्याडहरु समावेश छ – यसर्थ हाल iOS ११ चलिरहेको आइफोन र आइप्याडले iOS १२ पाउने निश्चित छ | यसका नयाँ फिचरहरु तल उल्लेख गरिएको छ :

१.      निकै सुधारिएको परफरमेन्स

यस भन्दा अगाडीको iOS संस्करण, iOS ११ ले पुराना आइफोन र आइप्याडको परफरमेन्स धेरै खराब गराएको गुनासो थुप्रै प्रयोगकर्ताले गरेका थिए | यही समस्यालाई सुल्झाउन एप्पलले iOS १२ लाई निकै फास्ट बनाएको दाबी गरेको छ | एप्पलका अनुसार एपहरु अब ४०% सम्म चाडै खुल्नेछन् | यस लगायत किबोर्ड खुल्ने समयमा ५०% र क्यामरा खुल्ने समयमा ७०% सम्म सुधार आएको कुरा एप्पलले बताएको छ | परफरमेन्स सुधारका साथै ब्याट्री लाइफ पनि सुधार हुने कुरा एप्पलले आफ्नो कार्यक्रमको मंचमा उल्लेख गरेको थियो |

२.      स्क्रिन टाइम

हालै गूगलले आफ्नो नयाँ एन्ड्रोइड संस्करण, एन्ड्रोइड ९.० मा समावेश गरेको कुरालाई एप्पलले पनि आफ्नो नयाँ iOS संस्करणमा समावेश गर्ने भएको छ | गूगलले ड्यासबोर्डमा उपलब्ध गराउने फिचरलाई एप्पलले स्क्रिन टाइम भनेर उपलब्ध गराउने छ | यसमा प्रयोगकर्ताले कुन एपमा कति समय बिताए, कुन एपबाट कति वटा सूचना आयो आदि जस्ता जानकारीहरु हेर्न सक्नेछन् | यस लगायत कुनै पनि मन लागेको एपमा प्रयोगको लागि टाइमर लगाउन मिल्ने छ र उक्त टाइमर पूरा भएपछि सिस्टमले प्रयोगकर्तालाई सूचना दिनेछ | उदाहरणका लागि: यदि फेसबुक एपमा ३० मिनटको टाइमर लगाइएको छ भने ३० मिनटको प्रयोग पछि उक्त एपको प्रयोग अवधि पुरा भएको सूचना प्रयोगकर्तालाई दिईने छ|

३.      सामूहिक सूचनाहरु (नोटिफिकेसन)

धेरैले भद्रगोल मान्ने iOS को सूचनाकेन्द्र ( नोटिफिकेसन सेन्टर) मा अब सुधार आउने भएको छ | अबको नयाँ संस्करणमा सूचनाहरुलाई समूहमा विभाजन गरेर राखिने छ जसबाट आउने सूचनाहरुको ट्रयाक गर्न सजिलो हुन्छ र कुनै पनि एपको सूचनाहरुलाई एकैपटकमा हटाउन मिल्छ | सूचना आउने तरिकामा पनि केहि परिवर्तन आउने भएको छ | प्रयोगकर्ताले कुनै पनि एपले पठाउने सूचनाको प्राथमिकता चयन गर्न सक्ने छन् | क्वाएट (Quiet) मोडमा राखिएको एपका सूचनाहरु लक् स्क्रिनमा देखा पर्ने छैनन्, सूचनाकेन्द्रमा मात्र देखा पर्ने छन् र उक्त सूचना आएको बेलामा फोन भाइब्रेट पनि गर्ने छैन |

४.      नयाँ इमोजी र मेमोजी

एप्पलले आइफोन १० संगै रिलिज गरेको एनिमोजीमा नयाँ चरित्रहरु थपिने भएको छ | यस लगायत अब प्रयोगकर्ताले आफूजस्तै देखिने एनिमोजी चरित्र बनाउने सक्ने छन् जसलाई एप्पलले मेमोजी नाम दिएको छ | यसबाट प्रयोगकर्ताले आफ्नो मेमोजीमा मन लागेको कपालको स्टाइल, छालाको रंग र पहिरनहरु चयन गर्न सक्नेछन् | साम्सुंगले ग्यालेक्सी S9 मा पहिले रिलिज गरेको यस फिचरलाई एप्पलले पनि आफ्नो नयाँ iOS संस्करणमा प्रयोग गर्ने भएको हो |

५.      सामूहिक फेसटाइम

सन् २०१०मा आइफोन ४ संगै एप्पलले आइफोन र आइप्याड प्रयोगकर्ताहरु बीचमा भिडियो कल गर्न मिल्ने फिचर फेसटाइम लन्च गरेको थियो | लन्च भए लगतै प्रयोगकर्ताहरुले सामूहिक रुपमा फेसटाइम गर्न नमिलेको गुनासो  गर्दै आएका थिए | अब नयाँ संस्करणसंगै आइफोन, आइप्याड र म्याकबुकमा पनि यस फिचर आउने भएको छ | यस अन्तर्गत एकै पटकमा ३२ जना प्रयोगकर्ताले फेसटाइममा भिडियो कल गर्न सक्नेछन् | यस संगै फेसटाइममा पनि नयाँ एनिमोजीका फिचरहरु प्रयोग गर्न मिल्ने छ |

६.      नयाँ एपहरु

एप्पलले यस iOS संस्करणमा केहि नयाँ एपहरु ल्याउने भएको छ भने पुराना केहि एपहरु पूर्ण रुपमा रिडिजाइन हुने भएका छन् | एप्पलको आफ्नै न्युज एप र फोटो एपमा अपडेट भएका छन् भने एप्पल स्टक एप भने पूर्ण रुपमा रिडिजाइन गरिएको छ | यस लगायत एप्पलले सटकर्ट एप पनि  रिलिज गर्ने भएको छ जसबाट प्रयोगकर्ताले थुप्रै स्मार्टफोन सम्बन्धित कामहरु एकै पटकमा सजिलैसंग गर्न सक्नेछन् | नयाँ आइफोनमा भएको AR विशेषतालाई प्रयोग गर्दै एप्पलले “मिजर” एप रिलिज गर्ने भएको छ | यस एपको सहायताबाट आइफोनको क्यामराबाट वस्तुहरुको लम्बाइ, चौडइ र गहिराइ मापन गर्न मिल्छ | एप्पलको आफ्नो पुस्तक बिक्रि गर्ने स्टोर – आइबुक्सको नाम परिवर्तन भएर एप्पल बुक्स भएको छ |

 

स्रोत : टेक एडभाईसर  

यसमा तपाईको मत