ग्याजेट विशेष

महँगो भएपनि 4K टिभी नै किन्ने त ?

  नागरिक   2020-02-01

टिभी वा मनिटर खरिद आज भोलि धेरै सुनिने कुरा हो – 4K । टिभी र मनिटरमा 4K को ट्याग यसको स्क्रिनको रेजोलुसनसंग गासिएको हुन्छ ।

 

4K रेजोलुसनको अर्थ

 साधारण शब्दमा भन्दा डिस्प्लेको तेर्सो भागमा ४००० वटा पिक्सल छ भने उक्त डिस्प्लेलाई 4K डिस्प्ले भनिन्छ तर १६:९ को आकार अनुपात मिलाउदा तेर्सोमा ठ्याक्कै ४००० वटा पिक्सल राख्नु मिल्दैन । त्यसैले टिभीमा 4K  को निकै नजिक पुग्न र १६:९ को अनुपात मिलाउनका लागि फूलएचडी अर्थात् १०८०p को ठ्याक्कै चार गुणा धेरै पिक्सलको प्रयोग गरिएको हुन्छ - जसबाट टिभीमा 4K को रेजोलुसन ३८४०x२१६० हुन जान्छ ।

यहि रेजोलुसनको अर्को नाम हो अल्ट्रा एचडी (UHD)। यसलाई २१६०p  पनि भनिन्छ । ।

 

4K टिभीको फाइदा के ?

 

साधारण बुझाइमा डिस्प्लेमा जति धेरै पिक्सल, त्यति नै राम्रो डिस्प्लेले देखाउने चित्रको गुणस्तर हुन्छ । हुन त टिभीको डिस्प्ले राम्रो हुनको लागि पिक्सल बाहेक अन्य कुराहरुले पनि असर गर्छ तर मुख्य भूमिका भने रेजोलुसन कै हुन्छ ।

 साधारण फुल एचडीमा भन्दा 4K  टिभीमा भिडियो र चित्र स्पष्ट देखिन्छ । तर डिस्प्लेको पूर्ण फाइदा उठाउनका लागि उक्त भिडियो पनि 4K  रेजोलुसनको हुनु आवश्यक छ । 4K टिभीमा भिडियो हेर्नुको मज्जा र अनुभव बेग्लै छ किन कि उक्त टिभीमा साना साना अक्षरहरु पनि सजिलै पढ्न सकिन्छ, साना चिजहरुको पनि बृहत जानकारी लिन सकिन्छ  र सबै कुराहरु निकै स्पष्ट र सफा देखिन्छन् ।

 

अब 4K  टिभी नै किन्ने त ?

भन्न सकिदैन ।

4K टिभी किन्ने नकिन्ने भन्ने कुरा थुप्रै कारकहरुमा आधारित भएको हुन्छ । कोहि उच्च टिभी हेर्ने अनुभवको शौखिन हुन्छन् भने कुनै केवल एक सन्तोषजनक टिभी हेर्ने अनुभवको खोजिमा हुन्छन् । - अझ उच्चस्तरीय टिभीको शौखिन भएका व्यक्तिहरूका लागि भनेर नै बजारमा अहिले 8K रेजोलुसन टिभी आएको छ । 8K रेजोलुसनमा 4K को तुलनामा ४ गुणा बढी पिक्सलहरू हुन्छ 

 

क. बजार मूल्य:

4K टिभीको मूल्य पहिलेको तुलनामा भन्दा निकै घटेर आएको छ । २-३ वर्ष पहिलेसम्म पनि  न्युनतम १.५ लाख पर्ने 4K टिभी अहिले लगभग ६० हजार मै खरिद गर्न मिल्ने भएको छ । सिजीको ४३ इन्चको 4K रेजोलुसनको टिभीलाई पनि मात्र ४१ हजार पर्छ ( दराज डट कम ) । तर अझै पनि अधिकतम् व्यक्तिहरुका लागि यो रकम निकै उच्च रहेको छ । १०८०p रेजोलुसन भएका टिभीहरु नेरु २० हजार मै खरिद गर्न सकिन्छ ।

 

ख. टिभी हेर्ने अनुभव:

टिभी हेर्ने अनुभवको आधारमा 4K रेजोलुसनको टिभी निकै राम्रो हुन्छ । एकपटक कसैलाई पनि उच्च रेजोलुसनको बानि परिसके पछि थोरै रेजोलुसन नराम्रो लाग्नु स्वाभाविक नै हो । यदि तपाई पहिल्यैदेखि १०८०p रेजोलुसनको टिभी प्रयोग गर्दै आउनुभएको छ र अझै अब्बल टिभी हेर्ने अनुभवको खोजीमा हुनुहुन्छ भने र चर्को मूल्यलाई पचाउन सक्नु हुन्छ भने मात्र तपाईले 4K टिभी किन्नु उचित हुन्छ ।पुरानो प्रविधिको सीआरटी टिभीबाट पहिलो पटक स्लिम एलसीडी टिभी खरिद गर्दै हुनुहुन्छ भने तपाई १०८०p रेजोलुसनको टिभीबाट नै सन्तुष्ट हुनुहुनेछ  ।

 

ग. भविष्यको लागि

डिस्प्लेको रेजोलुसन प्रविधिको विकाससंगै क्रमागत रुपमा बढ्दै जाने गर्दछ । आजभन्दा ५ वर्ष अगाडि सम्म पनि साधारण एचडीलाई नै स्ट्याण्डर्ड मानिने गर्दथ्यो । अहिले टिभी निर्माताहरु 4Kमा मात्र सिमित नभएर 8K टिभी पनि निकाल्न थालेका छन् । यसर्थ भविष्यमा लामो समयको लागि प्रयोग गर्न मिल्ने टिभीको खोजिमा हुनुहुन्छ भने १०८०p को सट्टा 4K रेजोलुसन नै उचित हुन्छ ।

 

 

 

यसमा तपाईको मत