बजार संक्षेप

वर्ल्डलिंकले साग खेलस्थलमा निःशुल्क इन्टरनेट दिने

  नागरिक   2019-12-01

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसनले दक्षिण एसियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अवधिभर उच्च गतिको इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिबी डाटा निःशुल्क प्रयोग गर्न पाउने कम्पनीले जनाएको छन् । 
वर्ल्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाईसँग सहकार्य गरेको छ । काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुने १३औं सागमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् । 
यसमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् । मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्ड हल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्ड हलमा वल्र्डलिंकको निःशुल्क वाइफाई उपलब्ध हुनेछ । वल्र्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक सबैभन्दा ठूलो कम्पनी हो । यसले देशका दुर्गममा समेत निःशुल्क इन्टरनेट उपलब्ध गराइरहेको छ । प्रयोगकर्ताले ६ हजार वाइफाई स्थानबाट निःशुल्क इन्टरनेट चलाउँछन् । फेसबुकसँग जोडिएर उसको एक्सप्रेस वाइफाई प्लेटफर्ममार्फत वल्र्डलिंकले दुर्गममा निःशुल्क वाइफाई वितरण गरिरहेको छ। एक्सप्रेस वाइफाई फेसबुकको विश्वभरका मानिसलाई इन्टरनेटमा जोड्ने कार्यक्रम हो । 

यसमा तपाईको मत