बजार संक्षेप

भिस्ताराको दिल्ली–काठमाडौं उडान सुरु

  नागरिक   2020-02-13

काठमाडौं– भारतीय एयरलाइन्स कम्पनी भिस्ताराले नेपालमा व्यावसायिक उडान सुरू गरेको छ । कम्पनीले मंगलबारदेखि दिल्ली–काठमाडौंको व्यावसायिक उडान सुरू गरेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कम्पनीका प्रमुख व्यापारिक अधिकृत विनोद कन्ननले भारतको एकमात्र पाँचतारे हवाई सेवा कम्पनीले नेपालमा पनि सेवा विस्तार गरेको जानकारी गराए ।
भिस्तारा टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानीमा स्थापना भएको कम्पनी हो । यो कम्पनीमा टाटा समूहको ५१ र सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको उनको भनाइ छ । जनवरी २०१५ देखि हवाई सेवा सुरू गरेको कम्पनीले छोटो समयमा आन्तरिकतर्फ विभिन्न ३१ सहर र अन्तर्राष्ट्रियतर्फ पाँचवटा गन्तव्यमा सेवा दिइरहेको उनले जानकारी गराए ।
उनले नेपाल भ्रमण वर्ष २०२० अभियानमा भिस्ताराको सेवा विस्तारबाट सहयोग पुग्ने अपेक्षा गरे । कम्पनीले दैनिक नयाँदिल्ली–काठमाडौं उडान भर्ने जनाउँदै आफ्नो कम्पनीको सेवा अति राम्रो रहेको समेत दाबी गरे ।
कम्पनीले दिल्ली–काठमाडौं दुईतर्फी भाडादर १५ हजार आठ सय रुपैयाँ तोकेको जनाएको छ । कम्पनीको सहज उडान तालिकाले नेपाल आउने यात्रुलाई सहज हुने कम्पनीको अपेक्षा रहेको छ ।
यस हवाई सेवाले सन् २०१९ को अगस्टमा सिंगापुर उडान भरी अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । पछि दुबई, बैंकक र कोलोम्बोमा सेवा विस्तार गरेको थियो । भिस्तारा तीव्र गतिमा भारत तथा विदेशमा वृद्धि भइरहेको कम्पनी भएको उसको दाबी छ । यसले सन् २०२३ सम्ममा न्यारो र वाइड बडी गरी ४० वटा हवाईजहाज थप्न लागेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । 
 

यसमा तपाईको मत