ग्याजेट विशेष

फिल्ममा भिलेनहरूले आइफोन प्रयोग गर्न नपाउने!

  नागरिक   2020-03-07

फिल्म निर्देशक रियान जनसनले फिल्ममा कस्ता भूमिकामा रहेका अभिनेताहरूले एप्पल आइफोन प्रयोग गर्न पाउछन् र कस्ताले पाउँदैनन् भन्ने कुरालाई सार्वजनिक गरेका छन् । उनिका अनुसार एप्पलले आफ्नो आइफोनहरूलाई चलचित्र वा टेलिभिजन श्रृंखलाका भिलेनहरूले प्रयोग गरेको देखाउनबाट रोक लगाउने गरेको छ ।

“एप्पलले चलचित्रमा आइफोनहरूको प्रयोग गर्न माथि कुनै रोक लगाएको छैन तर उक्त आइफोन चलचित्रका भिलेनहरूले प्रयोग गर्न पाउँदैनन् ” - निर्देशक जनसनले भ्यानीटी फेयरमा बताएका छन् ।

हलिउड फिल्मका दर्शकहरूले पनि कुनै सस्पेन्स वा रहस्यले भरिएको चलचित्रमा को भिलेन र को हिरो भनेर आइफोन कसले कसले प्रयोग गरेको छन् भन्ने कुराबाट नै अड्कल लगाउन सक्नेछन् ।

एप्पलले यस्तो बन्देज निकै पहिलेबाट नै लगाउँदै आएको छ । सन् २००२ मा रिलिज भएको 24 सिरिजमा पनि हिरोहरूले एप्पलको म्याक प्रयोग गरेको देखाइएको थियो भने भिलेनहरूले विन्डोज कम्प्युटर प्रयोग गरेको देखाइएको थियो ।

एप्पल कै आधिकारिक निर्देशिकामा पनि “एप्पलका उत्पादनहरूलाई सधैं राम्राहरूको हातमा मात्र देखाउनु” भनेर उल्लेख गरिएको छ ।

फिल्ममा आफ्नो उत्पादनहरू कसरी देखाइने भन्ने कुरामा चासो राख्ने एप्पल मात्र होइन, अन्य थुप्रै कम्पनीहरूले पनि यस्तै गर्दै आएका छन् ।

सन् २०१५ मा रिलिज भएको जेम्स बोन्ड फिल्म - स्पेक्ट्रमा पनि जेम्स बोन्डले सामसंग र सोनीका स्मार्टफोनहरू प्रयोग गर्न नमिल्ने भनिएको थियो । सामसंगले ५ करोड अमेरिकी डलर र सोनीले १.८ करोड अमेरिकी डलर तिर्न खोज्दा खोज्दै पनि यी कम्पनीका स्मार्टफोनहरूलाई उक्त चलचित्रमा देखाइएन ।

सन् २००७ को चलचित्र स्ल्मडग मिलिनियरमा पनि मर्सडिज गाडीलाई फोहर बस्तिको माझमा देखाएको भनेर मर्सडिजले आपत्ति जनाएको थियो ।

हलिउड र अन्य चलचित्रहरूमा एप्पलको उत्पादनहरू धेरै नै पहिलेबाट नै देखा पर्ने गरेका छन् । कन्केभको एक सर्वेक्षण अनुसार सन् २०१८ मा चलचित्र र टेलिभिजन श्रृंखलामा सबैभन्दा धेरै देखा पर्ने उत्पादनहरू नै एप्पलको हो ।


स्रोत : The Guardian
 

 

यसमा तपाईको मत