बजार संक्षेप

उन्नति र सहकार्य गाभिने सहमति

    2019-07-29

काठमाडौं– उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सहमति भएको छ । दुई संस्थाले शुक्रबार एक आपसमा गाभिने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा उन्नतिका सञ्चालक समिति अध्यक्ष अनिता ढुंगाना शाह र सहकार्यका सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका हुन् ।
रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ ।
हाल उन्नतिको चुक्तापुँजी आठ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्था एक करोड ४० लाख रुपैयाँ छ । अबका दिनमा उन्नतिले १ः१ अनुपात र सहकार्यले १ः३ को अनुपातमा यसअघि पारित गरेको हकप्रद सेयर जारी गर्नेछन् । सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पुँजीमा गणना गरिने बताइएको छ ।
दुई संस्था पुसभित्र एकीकृत भइसक्ने छन् । मर्जरपछि उन्नति सहकार्य लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । दुई संस्था आपसमा गाभिई सबल पुँजी भएको उत्कृष्ट राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्थापित हुने उनीहरुको भनाइ छ ।
एकीकृत संस्थामा सातजना सञ्चालक हुनेछन्, जसमा उन्नतिको अध्यक्ष नै मर्जरपछि अध्यक्ष बन्नेछन् भने प्रमुख कार्यकारी अधिकृतमा पनि उन्नतिकैले निरन्तरता पाउने सहमति भएको छ । कम्पनीको सेयर स्वाप रेसियो डिडिएबाट तय गरिने भएको छ ।
सहकार्यका प्रमुख कार्यकारी अधिकृतले मर्जरपछि बन्ने वित्तीय संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत पद पाउनेछन् । उनले हाल खाइपाई आएको सुविधा पाउनेछन् । दुवै कम्पनीमा हाल कार्यरत कर्मचारीको पद मर्जरपछि यथावत कायम राखिने विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत