बजार संक्षेप

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

  नागरिक   2019-10-17

हेटौंडा, असोज २९ (रासस)– मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । 
निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ । 
उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए । 
उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि ५० लाख छुट्ट्याएको छ । 
निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको भन्दै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारी गर्ने ‘मोडालिटी’ बनाएको बताए ।
उक्त कागज उद्योगका लागि जग्गा अभाव हुन नदिने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । मनहरिमा सरकारी जमिन आठ हजार रोपनी नापजाँच गरिएको र अरु अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उनले जानकारी दिए । 
कहाँ कागज उद्योग बनाउने भन्ने टुंगो भए सरकारी जमिनको अभाव हुन नदिने बताउँदै उनले यस्तै खालका सरकारी संरचना मनहरिमा निर्माण गर्ने भनेर गाउँपालिका क्षेत्रमा अतिक्रमण भएका जग्गाको खोजी गरेर भएका अतिक्रमण हटाउँदै गरेको जानकारी दिए । अतिक्रमण हटाउन उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति बनाएर काम सुरु गर्न लागेको उनको भनाइ छ ।

यसमा तपाईको मत