बजार संक्षेप

हुम्लामा पर्यटन महोत्सव

  नागरिक   2019-09-02

काठमाडौं– आगामी असोज ६ र ७ गते हुम्लाको एल्वाङमा दोस्रो क्रस बोर्डर महोत्सव हुने भएको छ । नाम्खा गाँउपालिकाको आयोजनामा हुने उक्त महोत्सवलाई कैलाशको संगमको रुपमा लिइएको छ । दुई दिनसम्म चल्ने महोत्सवमा स्थानीय कला, संस्कृति, भेषभूषा र त्यहाँको रहनसहन तथा भारतीय र चिनियाँ संस्कृति अवलोकन गर्न सकिने जनाइएको छ । महोत्सवबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित कार्यक्रममा उक्त स्थानलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनाउन महोत्सव गर्न लागेको जानकारी दिइयो । 
कैलाश मानसरोवर आउजाउ गर्ने पर्यटकले हुम्लाको उक्त स्थानलाई लाइफटाइम एचिभमेन्टको रुपमा लिन सक्ने आयोजकको दाबी छ । कैलाश मानसरोवरको नजिक तीन देशको विभिन्न गतिविधि हुने बताइएको छ । 
गाँउपालिकामा पर्यटनलाई प्रश्रय दिने थुप्रै विषय वस्तु रहेको बताउँदै आयोकजले महोत्सवमा स्थानीय खाना, त्यहाँको संस्कृति, धार्मिक तथा सांस्कृतिक विषयवस्तुका साथै भौगोलिकताबारे जानकारी गराउने जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उक्त स्थानलाई चिनाउँदा पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने र पर्यटकले पदयात्राको आनन्द पनि लिन सक्ने बताइएको छ । पर्यटन नै हुम्लाको मुख्य आधार बन्न सक्ने तथा त्यहाँको संस्कृति, परम्परा, समाजिक तथा भौगोलिक विविधताबारे महोत्सवमा जानकारी गराइने छ । महोत्सव नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, स्थानीय सरकार लगायतको सहभागितामा सञ्चालन हुने छ । 
 

यसमा तपाईको मत