बजार संक्षेप

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

  नागरिक   2019-11-17

काठमाडौं– प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म महोत्सव हुने जनाइएको छ । महोत्सवबारे जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै इलाम क्षेत्र नम्बर १ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले उक्त महोत्सवबाट पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय जगतसम्मै पर्यटनको प्रचारप्रसार हुने बताए । 
‘पर्यटन प्रवद्र्धनसँगै स्थानीय स्तरमा पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको छ,’ उनले भने, ‘इलाममा वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन । त्यहाँ नयाँ गन्तव्यको पहिचान र ट्रेकिङ रुटको विस्तारमा जोड दिन आवश्यक छ ।’
सरकारले तोकेका एक सय भ्रमण स्थलको पहिलो दसभित्र अट्ने इलामलाई कृषि पर्यटनको क्षेत्रबाट पनि विस्तार तथा विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । 
‘त्यहाँ अहिले होटल तथा रेस्टुरेन्ट, होमस्टेको निकै राम्रो विकास भएको छ । पर्यटकलाई आवश्यक सबै सुविधासहितका होटलले विभिन्न प्याकेज ल्याएका छन्,’ उनले भने । 
कार्यक्रममा बोल्दै सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले महोत्सवले नेपाल भ्रमण वर्ष सफल बनाउन आवश्यक मद्दत पु¥याउने बताए । भारतको दार्जलिङ, सिक्किम पश्चिम बंगाल, भुटान र बंगलादेशबाट समेत पर्यटक इलाम घुम्न आउने जनाउँदै उनले नेपालको पूर्वीद्वारको रुपमा रहेको उक्त क्षेत्रका राष्ट्रिय महŒवका कन्याम–फिक्कल–श्रीअन्तु गन्तव्यलाई सर्किटको रुपमा व्यापक प्रचारप्रसार गर्न महोत्सव आयोजना गर्न लागेको उनले बताए ।
उक्त क्षेत्रको विकासमा पर्यटन उद्योगले भूमिका खेल्ने जनाउँदै इलामको चिया, इस्कुस, अकबरे खुर्सानी, अम्लिसो, सुन्तला, छुर्पी लगायत वस्तुले पर्या–पर्यटन र आर्थिक पर्यटनमा टेवा पुग्ने उनको भनाइ छ । 
‘स्थानिय संस्कृति, झाँकि सहितको संस्कृतिको समेत अवलोकन गराउने उदेश्यसहित महोत्सवको तयारी भई रहेको छ ।’ उनले भने ‘बार्षिक तीन लाख पर्यटकले इलामको भ्रमण गरिहेका छन । महोत्सवबाट उक्त संख्यालाई बढाउदै पाँच लाख पर्यटक पु¥याउने अपेक्षा रहेको छ ।’
नगरपालिकाको २५ लाखमा आयोजना हुने उक्त महोत्सव सम्पन्न गर्न स्थानिय सरकार र संघिय सरकारबाट पनि सहयोग पाउने प्रतिवद्वता पाएको उनको भनाई छ । 
इलाम घुम्न आउने पर्यटक लक्षित होटल तथा होमस्टेको कुनै कमि नहुने जनाउदै उनले ३७ सय ५० पर्यटक लाई थेग्न सक्ने होटल लगायतका पूर्वाधारको विकास तयार रहेको उनले बताए ।
‘श्रीअन्तुमा ६ होटल, ५६ होमस्टे, तीन रिसोर्ट, फिक्कल बजारमा ३० होटल, गोर्खेमा पाँच होटल तथा पाँच होमस्टे, कन्याममा २३ होटेल, १० होमस्टे तथा तीन रिसोर्ट, पशुपतिनगरमा १२ होटल, २३ होमस्टेको सुविधा छ,’ नागरिकसँग उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने किसिमबाट महोत्सव सफल हुने अपेक्षा लिएका छौं ।’
 

यसमा तपाईको मत