बजार संक्षेप

जस्मिन पेन्ट्सको रजत महोत्सव

  नागरिक   2019-12-25

काठमाडौं– चितवनस्थित मनकामना ग्रुप अन्तर्गतको जस्मिन पेन्ट्स प्रालिले २५ वर्षको व्यावसायिक यात्रा पूरा गरेको अवसरमा रजतजयन्ती महोत्सव आयोजना गरेको छ ।
२०५१ पुस ६ गते भाडाको एउटा कोठाबाट परिवारका सदस्यले सुरु गरेको व्यवसायले विभिन्न उतारचढाव र संघर्ष गर्दै २५ वर्ष पूरा गरेको र आधा दर्जन कम्पनीमा फैलिएर चार सयभन्दा बढीलाई रोजगारी दिएको विज्ञप्तिमा उल्लेख छ । अहिले यो देशकै स्थापित व्यावसायिक समूहको रुपमा उभिन सफल भएको कम्पनीले जनाएको छ ।
पूर्ण स्वदेशी लगानीमा सञ्चालित जस्मिन पेन्ट्स स्वदेशी पेन्ट्स कम्पनीमध्ये अग्रणी स्थानमा पर्ने कम्पनीको दाबी छ । ‘नेपाली मनको नेपाली रङ’को नारासाथ अघि बढेको कम्पनीले उच्च प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरका नेपाल गुणस्तर चिह्न प्राप्त उत्पादनहरु सहित नेपाली ग्राहकको मन जितेको दाबी विज्ञप्तिमा गरिएको छ । 
समयसमयमा विभिन्न संघ–संस्था र कार्यक्रममा व्यावसायिक सफलता तथा सामाजिक उत्तरदायित्व बहन गरेबापत विभिन्न पुरस्कार पाएको छ । यसले नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड २०१८ र इन्टरनेसनल बिआइडी क्वालिटी एचिभमेन्ट अवार्ड २०१८ जस्ता सम्मान पाएको छ ।
कम्पनीले सामाजिक कार्यमा योगदान गर्न २०७२ मा मिसिका फाउन्डेसन स्थापना गरी पिछडिएका बालबालिकाको स्वास्थ्य र शिक्षामा काम गरिरहेको छ । कम्पनीले मिसिका फाउन्डेसनको १० लाख रुपैयाँको अक्षय कोषलाई बढाएर १५ लाख रुपैयाँको बनाइ कोषबाट आउने ब्याजलाई फाउन्डेसनको उद्देश्यमा प्रयोग गर्ने जनाएकोे छ ।
कम्पनीले समाजसेवाका लागि अनवरत रुपमा काम गरिरहेका संघ–संस्थालाई सहयोग गर्ने क्रममा आदर्श गृह, चितवनको भवन निर्माणको लागि तीन लाख ११ हजार एक सय ११ रुपैयाँ, स्पाइनल हस्पिटल चितवनलाई पाँच लाख रुपैयाँ, महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविस्कार केन्द्रलाई दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न नेतृत्व गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई १० लाख रुपैयाँ बराबरको पेन्ट्स, मानव सेवा आश्रम काठमाडौंलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोगको घोषणा गर्ने कार्यक्रम रहेको पनि जनाएको छ ।
देश विकासको मेरुदण्ड युवा वर्ग व्यवसायमा लागे राष्ट्रिय आर्थिक समृद्धि टाढा नहुने वास्तविकतालाई मनन गर्दै चितवनका उदीयमान युवा व्यवसायी उत्सव श्रेष्ठलाई सम्मानित गर्ने जमर्को पनि कम्पनीले गरेको छ  ।
बेसहारा र अशक्तलाई उद्धार गर्दै मानवीय कार्य गर्दै आएको मानव सेवा आश्रमलाई सम्मान र रजत जयन्तीको कार्यक्रममा विभिन्न पाँच विधामा उत्कृष्ट पाँच क्षमतावान कर्मचारीलाई सम्मान गर्ने पनि कम्पनीले जनाएको छ ।

यसमा तपाईको मत