बजार संक्षेप

दराजको ग्राहक संख्या दुई सय प्रतिशत बढ्यो

  नागरिक   2020-01-16

काठमाडौं– अनलाइन बजार, दराजले गत आर्थिक वर्ष  सन् २०१९ मा दुई सय प्रतिशत ग्राहकको संख्या बढेको दाबी गरेको छ । दराजले सन् २०१९ मा आफ्नो एपमा रिडिजाइन तथा थप सुधार गरेसँगै ग्राहकको संख्या ह्वात्तै वृद्धि भएको बुधबार प्रेस विज्ञप्ति जारी गरेर जनाएको छ ।  
दराजले सन् २०१८ देखि कम्पनीले ग्राहक तथा बिक्रेता संख्यामा दुई सय प्रतिशत र अर्डरमा  दुई सय ७० प्रतिशत वुद्धि भएको जनायो । दराजले सन् २०१९ मा भएको दराज ११.११ को दोस्रो संस्करणमा मात्रै साढे तीन लाखभन्दा धेरै प्रयोगकर्ता दर्ता भएको जनाएको छ ।
कम्पनीका अनुसार सन् २०१८ को ११.११ को संस्करणको तुलनामा दुई गुणा बढी भएको दाबी गरेको छ । दराजले सन् २०१९ मा डेबिट र क्रेडिट कार्डद्वारा भुक्तानी, सुदृढ रिभ्यू र रेटिङ प्रणाली लगायतमा व्यापक मात्रामा सुधार गरेको थियो । दराजले वास्तविक समयमा विक्रेतासँग प्रत्यक्ष कुराकानी गर्न मिल्ने इन्स्ट्यन्ट मेसेजिङ सुविधा, गेमहरू लगायत काम गर्दै आइरहेको छ । सन् २०१८ मा अलिबाबाले दराज अधिग्रहण गरेको थियो । हाल दराज पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सञ्चालनमा आएको छ । दराजले आफ्नो पूर्वाधार र स्रोतहरूमा लगानी बढाउँदै दराज एक्सप्रेस (डेक्स) नामक आफ्नो लजिस्टिक्स एकाइ पनि स्थापना गरेको थियो ।  
दराजले सन् २०१९ मा तीन सयभन्दा बढी कर्मचारी थप गरेको थियो । २०१९ मा सामसङ, क्यासियो, एडिडास, टाइटन, सियाउमी, सोनमगियर्स, टिभिएस, जस्ता विभिन्न ब्रान्ड पनि दराजसँग सहकार्य गर्दै आइरहेका छन् । दराज एपले दैनिक एक लाखभन्दा बढी प्रयोगकर्ता होस्ट गर्दै आइरहेको छ । हरेक महिना एक लाख ६० हजार प्याकेज सम्पूर्ण नेपालभर वितरण गर्छ । नेपालमा मात्र दराजले तीन हजारभन्दा बढी विक्रेताका साथ लाखौं उत्पादन हजारौं ग्राहकसम्म पु¥याउँदै आएको छ । कम्पनीले २०२० मा अझै धेरै दराज प्रयोगकर्ता र विक्रेता संलग्न गर्ने उद्देश्य राखेको कम्पनीले जनायो । 
 

यसमा तपाईको मत