कभर स्टोरी

चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान

  नागरिक   2019-12-26

शेरबहादुर जेरो
ओखलढुंगा-ओखलढुंगाको पर्यटकीय क्षेत्र खिजिदेम्बास्थित खिजी चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान भएको छ । सोमबार बिहान तारा एयरलाइन्सको विमानले सफलतापूर्वक परीक्षण उडान गरेको हो । 
परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि पर्यटनमन्त्री योगेश भट्टराई र संघीय संसद्को विकास समितिका पदाधिकारी र प्राविधिक टोली चण्डेश्वरी विमानस्थल आएको थियो । पर्यटकीय क्षेत्रलाई लक्षित गरेर निर्माण थालेको उक्त विमानस्थलमा गत हप्ता मात्रै ग्राभेलको काम पूरा भएको थियो । 
निर्माण सकिनासाथ परीक्षण उडान भरेर सुधार तथा नियमित उडानका लागि पहल थालिएको पर्यटनमन्त्री भट्टराईले बताए । विमानस्थल थप चौडा बनाएर कालोपत्रे गर्न पहल गर्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाएका छन् । यस क्षेत्रको पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा मन्त्रालयले बजेट व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको भनाइ छ । 
यहाँका स्थानीयले यो विमानस्थलको स्तरोन्नति र कालोपत्रे गर्न पर्यटनमन्त्री भट्टराईसमक्ष माग गरेका छन् । ओखलढुंगा हुँदै सोलुखुम्बुको सगरमाथा क्षेत्र जान अति उपयुक्त पदमार्गको बीचमा रहेको यो विमानस्थलमा नियमित हवाईजहाज चल्न सके पर्यटक जिल्लामा भिœयाउन सहज हुने संघीय सांसद यज्ञराज सुनुवारको भनाइ छ । 
पर्यटनमन्त्री भट्टराई सहितको टोलीसमक्ष स्थानीयले मागपत्र नै पेस गरेर खिजी क्षेत्रको पर्यटन विकासमा ध्यान दिन माग गरेका छन् । ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अगुवाइमा पेस गरिएको मागपत्रमा खिजिचण्डेश्वरी विमानस्थलमा ठूला जहाज अवतरण गर्न मिल्ने गरी स्तरोन्नति र कालोपत्रेको माग गरिएको छ । 
पर्यटकीय क्षेत्रको विकासमा मन्त्रालयले बजेट व्यवस्था गरेर पर्यटन वर्ष २०२० मा हजारौं पर्यटक खिजी क्षेत्रमा आकर्षित गर्न सहयोग गर्न माग गरिएको पर्यटन व्यवसायी पेम्बा शेर्पाले बताए । मन्त्री भट्टराईले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । 
यो विमानस्थलको निर्माण कार्य सुरु भएको १३ वर्षपछि ग्राभेलको काम सकिएको हो । आर्थिक वर्ष २०६३÷०६४ मा विमानस्थल निर्माणका लागि जग्गाको व्यवस्था गरिएको थियो । आर्थिक वर्ष २०६९÷०७० बाट जग्गा सम्याउने काम सुरु भएको आयोजना प्रमुख एवं नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले बताए । हाल विमानस्थलमा ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन निर्माण र अस्थायी टावरघरको निर्माण सम्पन्न भएको भट्टराईले जानकारी दिए । 
विमानस्थलमा ग्राभेल लगायतको काम एक वर्षमा सम्पन्न गर्ने गरी २०७३ फागुन २४ गते गाल्भा–निसान–पूर्णिमा जेभीले ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्याद पनि गत असोज १५ गते सकिएको छ । केही दिनअघि मात्र ठेकेदार कम्पनीले विमान स्थलको ग्राभेल लगायतको काम सकेको हो । 
ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणबाट भ्याटसहित दुई करोड पाँच लाख ३३ हजार सात सय ४० रुपैयाँमा ठेक्का लागेको थियो । पाँच सय ८० मिटर लम्बाइ र ४० मिटर चौडाइको रनवे ग्राभेल गरिएको आयोजना प्रमुख तथा इन्जिनियर भट्टराईले बताए । 
कुल ६ सय ५० मिटर लम्बाइ भएको विमानस्थलमा दुईवटा ट्विनअटर विमान पार्किङ गर्न सकिन्छ । रनवेको काम सकिए पनि विमानस्थलमा यात्रु प्रतीक्षालय, सुरक्षा पोस्ट लगायत संरचना बन्न बाँकी छन् । पहिरो रोक्न वाल, रनवेको थप स्तर सुधारको काम अझै बाँकी छ । यस विमानस्थलमा नियमित उडान भएमा खिजीसम्म जहाजमा आएका पर्यटकलाई देम्बा, पिके हुँदै सगरमाथा जान पदमार्ग सहज छ । 
यो विमानस्थलबाट चार घन्टा पैदल दुरीमा नेपालका सात अग्लामध्येको एक देम्बाडाँडा समेत रहेको छ । यसका साथै यस विमानस्थलमार्फत नियमति उडान हुन सके जिल्लाको पश्चिमी भू–भागका स्थानीयलाई सहज हुने खिजिदेम्बा गाउँपालिका–४ का वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले बताए । सहज यातायातको सुविधा नहुँदा यस क्षेत्रका नागरिक आपतकालीन अवस्थामा लाखौं खर्च गरेर हेलिकप्टर चार्टर गर्न बाध्य छन् । ढिलै भए पनि आफ्नो क्षेत्रमा विमानस्थल बन्दा यहाँका स्थानीय हर्षित भएका छन् । 
 

यसमा तपाईको मत