बजार संक्षेप

भारतमा टेलिकमको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा

  नागरिक   2019-09-08

काठमाडौं– लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकलाई लक्ष्य गरी ८७ मुलुकका एक सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको टेलिकमले भदौ २० देखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा फेरि उपलब्ध गराउन थालेको छ । टेलिकमले रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधामात्र दिँदै आएको थियो ।
‘अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतकामा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा फेरि सञ्चालनमा ल्याइएको छ,’ नेपाल टेलकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘अब उप्रान्त नेपाल टेलिकमका ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारत जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्नुहुनेछ ।’
भदौ १९ सम्म अन्तर्र्रािष्ट्रय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुने टेलिकमले जनाएको छ । उक्त मितिपछि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस र इन्टरनेट सेवा उपलब्ध हुनेछ । निकट भविष्यमै यो सेवा अन्य देशमा पनि विस्तार गर्दै लगिने टेलिकमले बताएको छ । 

यसमा तपाईको मत