बजार संक्षेप

महेन्द्रनगरमा टेलिकमको फाइबर टू द होम सेवा

  नागरिक   2019-09-06

काठमाडौं– नेपाल टेलिकमले महेन्द्रनगरमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु गरेको छ ।
कम्पनीले बिहीबार महेन्द्रनगरमा एफटिटिएच सेवा सुरु गरेको हो । टेलिकम क्षेत्रीय निर्देशनालय धनगढीका निर्देशक नामाकर न्यौपानेले महेन्द्रनगरमा एफटिटिएच वितरण सुरु भएको जानकारी गराउँदै सो क्षेत्रमा यसको क्षमता र आगामी दिनको योजनाबारे जानकारी दिँदै नयाँ ग्राहकलाई क्षेत्रीय एफटिटिएच जडानका लागि आवश्यक सिपिई (कस्टमर प्रिमिसेज इक्विपमेन्ट) वितरण गरेका थिए ।
महेन्द्रनगरमा जडान गरिएका दुईवटा एफडिसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) को एक हजार २४ लाइन एफटिटिएच वितरण क्षमता रहेको टेलिकमले जनाएको छ । सोमध्ये सात सय ६८ लाइन तत्काल वितरण गर्न सकिने छ । महेन्द्रनगरको बजार क्षेत्रमा गल्ली नम्बर १ देखि चारसम्म हाल एफटिटिएच उपलब्ध छ । आगामी दिनमा जिल्लामा थप सातवटा एफडिसी जडान गरी प्रायः सहर र घनाबस्ती क्षेत्रमा सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।
एफटिटिएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकको लागि यो सेवा प्रभावकारी हुने न्यौपानेले बताए । टेलिकमका अनुसार पहिले एडिएसएल प्रयोग गरिरहेका ग्राहकले पनि अपग्रेड गरी एफटिटिएच सेवा लिन सक्नेछन् । 
टेलिकमले एफटिटिएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ, जस अन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबिपिएसको प्याक जम्मा आठ हजार रुपैयाँमा उपलब्ध गराएको छ । हाललाई एफटिटिएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सिपिई) र एक सय मिटर फाइबर निःशुल्क प्रदान गर्ने टेलिकमले जनाएको छ ।

यसमा तपाईको मत