बजार संक्षेप

टेलिकमको फोर जी सेवा विस्तार

  नागरिक   2019-10-03

प्रेम पुन्थोकी
काठमाडौं-नेपाल टेलिकमको फोरजी एलटिई सेवा विस्तार भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सेवाको उद्घाटन गरेका हुन् । 
प्रधानमन्त्री ओलीले सो कार्यक्रममा बोल्दै मुलुक राजनीतिक अधिकार प्राप्तिको काम सम्पन्न गरेर सुशासन र विकासतर्फ अघि बढेको बताए । प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा सकेसम्म छिटो प्राप्त गर्ने गरी नीति तथा कार्ययोजना बनाई कार्यान्वयनमा अघि बढेको बताए । सरकार ‘विकासको बाटोमा नेपाल हरेक दिन एक कदम अगाडि’ अभियानका साथ अघि बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले पुँजीमात्र नभएर प्रविधि हस्तान्तरणमा समेत जोड दिने बेला आएको बताए । 
उनले उत्पादन र विकासमा प्रविधि प्रयोगको निरन्तरताको रूपमा टेलिकमले ल्याएको फोरजी एलटिईले शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रको विकासमा महातवपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले टेलिकमले निर्धारित समयमै आफ्ना योजना सम्पन्न गरेकोमा प्रसंसा गर्दै अप्टिकल फाइबर विस्तार लगायत योजना समयमै सम्पन्न गर्न निर्देशन दिए । ‘सरकारले हरेक काम तीव्र गतिमा गर्ने नीति अगाडि सारेको छ । ढिलासुस्ती स्वीकार्य छैन,’ ओलीले भने, ‘ढिलासुस्तीले राष्ट्रलाई नोक्सान गर्छ । जिम्मा पाएको काम कसैले समयमै गर्न सक्दैन भने हस्तक्षेप गरेर अर्को प्रक्रिया अगाडि बढाउनुस् ।’ उनले समय र गुणस्तरमा कसैसँग सम्झौता नगर्न पनि निर्देशन दिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले यो सरकार आउनुअघि प्रोजेक्ट होली डेको अवस्थामा रहेको टेलिकमले अहिले नौ ठूला परियोजना सञ्चालन गरिरहेको बताए । उनले फोरजीको योजना सम्झौताको सात महिना मै देशको प्रमुख सहरमा विस्तार हुनु गौरवको कुरा रहेको बताए । उनले टेलिकमले दूरसञ्चारको ५५ प्रतिशत हिस्सा समेट्न सकेको र साधारण नागरिकको क्रयशक्तिभित्र रहेर काम गर्दै आएको बताए । मन्त्री बास्कोटाले टेलिकमले अघि सारेको अप्टिकल फाइबर विस्तारको काम प्रदेश १, २ र ३  मा १८ महिनामा सम्पन्न गर्ने र बाँकी प्रदेशमा छिट्टै काम अगाडि बढाउने बताए ।
प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्स गरेर फोरजी एलटिईको सुरुवात गरेका थिए ।
नेपाल टेलिकमले सातै प्रदेशका ३६ जिल्लाका ५० भन्दा बढी सहरमा बुधबारदेखि फोरजी एलटिई सेवा सुरु गरेको छ । एलटिई एडभान्स नाम दिइएको यो प्रविधिले साबिकको फोरजीले भन्दा बढी डाटा स्पिड दिने टेलिकमले जनाएको छ । हाल यसको परीक्षण डाटा २४७ एमबिपिएस रहेको छ, जसको औसत डाटा १५० एमबिपिएस रहेको टेलिकमले जनाएको छ । कार्यक्रममा टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले फोरजी एलटिईसँगै टेलिकमले फाइभजीको पाइलटिङको काम सुरु गरेको बताए । 
 

यसमा तपाईको मत