बजार संक्षेप

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

  नागरिक   2019-12-13

काठमाडौं– नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको जनाएको छ । काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटिटिएच सेवा हाल नेपालभर २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
एफटिटिएच प्रविधिमार्फत् परम्परागत तामाको तारको सट्टा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने जनाइएको छ । ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी रहेको कम्पनीको दाबी छ । यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले तीव्ररूपले कार्ययोजना अघि बढाएको पनि जनाएको छ । कम्पनीले यो सेवालाई ‘एन्टी फाइबर’को नाममा ब्रान्डिङ गरेको हो । 
कम्पनीले एफटिटिएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेजसमेत उपलब्ध गराइरहेको जनाएको छ । यसअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबिपिएसको प्याक जम्मा आठ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटिटिएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाइ राउटर (सिपिई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
 

यसमा तपाईको मत