बजार संक्षेप

टेलिकमले ल्यायो आकर्षक छुट

  नागरिक   2019-09-30

काठमाडौं– नेपाल टेलिकमले दसैंको अवसरमा आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटिई र अन्य सेवामा विशेष छुटसहितका अफर ल्याएको जनाएको छ । 
यस योजनाअन्तर्गत कम्पनीले फोरजी/एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ। अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ । त्यस्तै पहिलोपटक फोरजी/एलटिई नेटवर्कमा रजिस्टर हुने ग्राहकलाई दुई दिनको समयावधि सहितको दुई सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले पोस्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट  सेवा निःशुल्क उपलब्ध गराउने र प्रिपेड ग्राहकले पनि आगामी कात्तिक १६ गतेसम्म मिस्ड कल अलर्ट सेवा निःशुल्क खरिद गर्न सक्ने जनाएको छ ।
जिएसएम–सिडिएमए ग्राहकका प्रिपेड–पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध हुनेछ । आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस योजनामा ५०, एक सय र दुई सय रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय र एक हजार रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुने जनाएको छ । उक्त बोनस मध्ये ५०, एक सय  र दुई सय रुपैयाँको बोनस तीन दिनभित्र र पाँच सय र एक हजार रुपैयाँकोे बोनस पाँच दिनभित्र उपयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । 
त्यसैगरी, एमपोसबाट १० देखि चार सय ९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र उपयोग गरिसक्नु पर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

                                                    
 

यसमा तपाईको मत