बजार संक्षेप

भ्रमण वर्ष उद्घाटनमा विद्यार्थीको मार्चपास

  नागरिक   2019-12-23

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विद्यार्थीलाई पनि सहभागी गराइने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन), प्याब्सन, शिक्षक संघलगायत संस्थासँगको छलफलमा विद्यार्थीलाई सहभागी गराउन निर्देशन दिएका हुन् । 
छलफलका क्रममा मन्त्री भट्टराईले २० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्यमा सबैको सहभागिता अपरिहार्य भएको बताउँदै उक्त शैक्षिक संस्थालाई मार्चपास र दर्शकदीर्घामा कम्तीमा एक हजार विद्यार्थी सहभागी गराउन पनि आग्रह गरे । मूल आयोजकको सदस्य संगठनको रुपमा रहेका संस्थाले भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पुर्याउन सम्बद्व स्कुुल, कलेजका प्रवेशद्वारमा नेपाल भ्रमण वर्षको लोगोसहितको प्रचारप्रसारका सामग्री राख्न पनि मन्त्री भट्टराईले आग्रह गरे । 
छलफलका क्रममा हिसान, प्याब्सन, एनप्याब्सन प्रत्येकलाई मार्चपास गर्न एक सय विद्यार्थी र दर्शकदीर्घामा उल्लेख्य सहभागिताका लागि एक हजार विद्यार्थीलाई उतार्न पनि आग्रह गरिएको छ । उक्त संस्थाहरुले विदेशमा हुने सभा, सम्मेलन तथा गोेष्ठीमा नेपाल भ्रमण वर्षबारे बोलिदिन पनि आग्रह गरिएको छ । 
जनवरी १ मा सातै प्रदेशबाट नेपाल भ्रमणको सुरुवात हुने भएकाले काठमाडौंस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन तथा प्रधानमन्त्री केपी शर्माओलीे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 

यसमा तपाईको मत