बजार संक्षेप

एनआइसी एसियाका ग्राहकलाई भाटभटेनीमा विशेष छुट

  नागरिक   2019-09-23

काठमाडौं– एनआइसी एसिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् लत्ताकपडा र जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम एक हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । 
उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकले उक्त छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ । 
यसका साथै एनआइसी बैंकमा खाता नभएका इच्छुक व्यक्तिले पनि भाटभटेनी सुपरमार्केटमा रहेको एनआइसी एसिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत नयाँ खाता खोल्न सक्ने र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्ने बताइएको छ । 
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । 
असोज ८ देखि कात्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
एनआइसी एसियाले दुई सय ९८ शाखा कार्यालय, तीन सय ५९ एटिएम, ७० एक्स्टेन्सन काउन्टर र ४१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ दिइरहेको छ । यो मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । यसले करिब १८ लाख ग्राहकलाई सेवा दिइरहेको र बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको विज्ञप्तिमा उल्लेख छ । यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको छ । वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थिति रहेका मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायत दुर्गम जिल्ला र कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत