बजार संक्षेप

नेपाल लाइफ इन्स्योरेन्सको स्किल डेभलपमेन्ट कार्यक्रम सम्पन्न

  नागरिक   2020-02-11

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले गरेका थिए । 
आफ्ना अभिकर्ताको क्षमता अभिवृद्धि तथा उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा १५ सयभन्दा बढी सक्रिय अभिकर्ताको सहभागिता थियो ।
कार्यक्रममा सिइओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाबारे सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको सिइओ झाको भनाइ छ । 
बिमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको कथन छ ।
सो अवसरमा सिइओ झाले बिमा गराउनुभन्दा पहिले बिमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बिमाको आवश्यकता महसुस गराएर मात्र गराउन सुझाव दिए । उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालीन लाभमा नेपाल लाइफले ध्यान दिने बताए ।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले स्वागत मन्तव्य राख्दै कम्पनीलाई यो अवस्थासम्म ल्याइपु¥याउने श्रेय सम्पूर्ण अभिकर्ताहरुको रहेको बताउँदै सम्पूर्ण अभिकर्तालाई धन्यवाद व्यक्त गरे । सम्पूर्ण अभिकर्ताहरुले आम नागरिकलाई बिमाबारे बुझाएर मात्र बिमा गराउन उनको सुझाव थियो ।
पेसागत बिमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरु र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको बताए । 
कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएका थिए । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक उमापति पोखरेल, प्रशासन एवं मानव संशाधन प्रमुख सोनबहादुर मगर र कम्युनिकेसन तथा ब्रान्डिङ विभाग प्रमुख मेघेन्द्रप्रकाश गिरीले उत्कृष्ठ व्यवस्थापन गरेको कम्पनीको भनाइ छ ।
जीवन बिमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको दाबी गर्ने यस कम्पनीको चुक्ता पुँजी पाँच अर्ब ५० करोड छ । लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र सेयरधनी कोष आठ अर्ब ५७ करोडभन्दा बढी छ । कम्पनीले यस आर्थिक वर्षको मध्यसम्ममा १४ अर्ब ७ करोड बिमा शुल्क संकलन गरेको जनाएको छ । एक लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि हालसम्म देशभर फैलिएका दुई सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म स्वदेश र विदेश गरी २७ लाख दुई हजार तीन सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।


 

यसमा तपाईको मत