बजार संक्षेप

गुणस्तर मापदण्ड पूरा नगर्ने ६२ उद्योग कारवाहीमा

  नागरिक   2019-09-11

प्रेम पुन्थोकी
काठमाडौं-नेपाल गुणस्तर तथा नापतौल विभागले गत आर्थिक वर्ष २०७५÷०७६ मा  ६२ उद्योगलाई कारवाही गरेको छ । विभागले अनुगमन र निरीक्षण गरेका एक सय ८० उद्योगमध्ये त्यतिलाई कारवाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । विभागले गुणस्तर प्रमाण चिह्न प्राप्त उद्योगको मात्र अनुगमन, निरीक्षण गर्छ । 
‘उद्योग र बजार अनुगमनबाट पाँच सय ८५ नमुना संकलन गरिएको थियो, जसमा ६२ उद्योगले गुणस्तरको मापदण्ड पूरा नगरेको पाइयो,’ महानिर्देशक पुडासैनीले भने, ‘त्यसमा ४२ उद्योगको कारवाही टुंगिएको छ ।’ 
कारवाहीका लागि सिफारिस भएकामध्ये एउटा जिआई तार उत्पादकको इजाजत नै खारेज गरिएको र १९ उद्योग कारवाहीकै प्रक्रियामा रहेको पुडासैनीले बताए । विभागले चालु आर्थिक वर्षमा नौ उद्योगमा अनुगमन गरेको छ । अनुगमनमा संकलित ६१ नमुनामा चार उद्योगले गुणस्तर मापदण्ड पूरा नगरेको भेटिएको छ ।
गत आर्थिक वर्षमा कारवाही गरिएका उद्योगमा २७ सिमेन्टका छन् । त्यस्तै ६ रड, पाँच जिआई तार, तीन एचडिपिई पाइप, चार पिभिसी केबल, पाँच पेन्ट र १२ खाद्य उद्योग छन् । चालु आर्थिक वर्षमा कारवाहीको लागि सिफारिस भएका चार उद्योगमा सबै सिमेन्ट छन् । 
कारवाही गरिएका अधिकांश उद्योगले गुणस्तर र वस्तुको उत्पादन गर्दा तोकिएको मात्रामा आवश्यक कच्चा सामग्री प्रयोग नगरेको पाइएको छ । विभागले धेरैको कारवाही प्रक्रिया विभागस्तरमै टुंग्याउने गरेको छ । ‘अनुगमनका क्रममा अधिकांश उद्योगका कमजोरी कम जटिल देखिएकोले स्पष्टीकरण र सुधारका योजना सहित टुंग्याइएको छ,’ पुडासैनीले भने ‘कारवाही प्रक्रियामा रहेका उद्योगमा पनि चित्त बुझ्दो स्पष्टीकरण र सुधार योजनाको पर्खाइमा छौं । कतिपयको थप अनुसन्धान आवश्यक देखिन्छ ।’
बजारमा केही उद्योगले विभागबाट स्वीकृति नलिई गुणस्तर  चिह्न प्रयोग गरेको पनि पाइएको छ । गत वर्ष इजाजत नलिई गुणस्तर चिह्न प्रयोग गरेको काठमाडौंको प्रान पोटेटो क्रेकरविरुद्ध विभागले जिल्ला अदालत काठमाडौंमार्फत मुद्दा अघि बढाएको छ । विराटनगरको ओरियन्टल जिआई वायर उद्योगविरुद्ध विराटनगर कार्यालयले कारवाही अगाडि बढाएको महानिर्देशक पुडासैनीले बताए । 
विभागले अघिल्ला वर्षमा भन्दा अनुगमन तथा निरीक्षण बढाएको सहायक सूचना अधिकारी सुन्दरकुमार थापाले बताए । अनुगमन र निरीक्षण विभाग एवं विराटनगर, वीरगन्ज, काठमाडौं, बुटवल, नेपालगन्ज, जनकपुर, पोखरा, भैरहवा र धनगढीस्थित क्षेत्रीय कार्यालयमार्फत गरिँदै आएको विभागले जनाएको छ । 

यसमा तपाईको मत