बजार संक्षेप

६ ग्यास उद्योग स्पष्टीकरणमा

  नागरिक   2019-12-30

काठमाडौं– मापदण्डमा कैफियतयुक्त खाना पकाउने ग्यास सिलिन्डर बिक्री गर्ने ६ उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले स्पष्टीकरण सोधेको छ । विभागले अनुगमन गर्दा नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली २०४० को नियम अनुसार मापदण्ड पूरा नगरेको भेटिएका उद्योगलाई १५ दिने स्पष्टीकरण सोधिएको विभागका निर्देशक संजिवकुमार ठाकुरले बताए । 
ठाकुरका अनुसार एभरेस्ट ग्यास उद्योग–काठमाडौं, श्रीकृष्ण ग्यास–धादिङ, साइबाबा ग्यास–चितवन, क्याबसन्स ग्यास–धादिङ, भानु ग्यास–चितवन, त्रिवेणी ग्यास उद्योग–धादिङलाई स्पष्टीकरण सोधिएको हो ।
विभागले गरेको अनुगमनमा एभरेस्टको सिलिन्डरमा एचएसटी टेस्ट नगरेको, क्लिनिङ तथा ड्राइङ नभएको र टेयर वेट नलिएको पाइएको थियो । त्यसैगरी, श्रीकृष्ण ग्यासमा पर्जिङको व्यवस्था नभएको र टेयर वेट लिने व्यवस्था नभएको, साइबाबामा पर्जिङ र टेयर वेट लिने व्यवस्था नभएको तथा वाटर डिप टेस्टको व्यवस्था नभएको विभागले जनाएको छ । 
अनुगमनमा क्याबसन्स ग्यासमा टेयर वेट, क्लिनिङ एन्ड डाइङको व्यवस्था नभएको, भानुमा भल्भ मर्मत गर्ने काम नभएको, पर्जिङको व्यवस्था नभएको, एचएसटी मेसिन सुचारु नरहेको, टेयर वेट लिने व्यवस्था नभएको र क्लिनिङ तथा ड्राइङको व्यवस्था देखिएको थिएन । त्यसैगरी, त्रिवेणी ग्यास उद्योगमा भल्भ मर्मत गरेको, क्लिनिङ एन्ड ड्राइङको व्यवस्था नभएको, लिकेज सिलिन्डर ननिकालिएको र क्याप्ड नगरिएको पाइएको विभागले जनाएको छ । विभागले कैफियत भेटिएका तीन सिमेन्ट उद्योगलाई पनि स्पष्टीकरण सोधेको जनाएको छ । 

यसमा तपाईको मत