बजार संक्षेप

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

  नागरिक   2019-12-12

विराटनगर,- सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । सीता एयरले  माउन्टेन हेलिकोप्टरसंगको सहकार्यमा हलेसी र पाथीभरा जाने पर्यटकलाई लक्षित गरी प्याकेजसहित खोटाङको लामिडांडा र ताप्लेजुङको सुकेटारमा विराटनगर र भद्रपुरबाट उडान थाल्ने तयारी गरेको जानकारी दिएको हो । 
सीता एयरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर श्रेष्ठले नेपालको पश्चिम क्षेत्रमा केन्द्रित रहेर सेवा प्रदान गरिरहेको सीता एयरले पूर्वी पहाडी क्षेत्रमा पनि उडान थाल्ने तयारी गरेको बताए । ‘नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर पूर्वी नेपालको महत्वपुर्ण धार्मिक स्थलहरूलाई लक्षित गरी प्याकेजसहित विराटनगर र भद्रपुरबाट नियमित उडानसमेत थाल्ने तयारी गरेका छौं,’ श्रेष्ठले भने । 
नेपालका  पहाडी जिल्लामा सरकारले कालोपत्रे भएका विमानस्थलसमेत निर्माण गरिसकेको भए पनि निजी क्षेत्रका विमान आकर्षित नहुँदा पहाडी जिल्लाका यात्रुले सहज रूपमा हवाई सेवा पाउन नसकेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार साना जहाजबाट हवाई सेवा प्रदान गर्दै आएको सीता एयरले तत्कालका लागि परीक्षण उडान सुरु गरेको भए पनि यात्रुको मागका आधारमा नियमित उडान र उडानको संख्या थप गर्दै लैजाने स्पष्ट पारे । उनले भने, ‘स्थानीय मागका आधारमा हवाई उडानको संख्या थप, घट गरिनेछ ।’ 
विराटनगर र भद्रपुरबाट सञ्चालन गरिने प्याकेज उडानका लागि सीमावर्ति भारतीय सहरमा समेत प्रचारप्रसार गरिएको श्रेष्ठले जानकारी दिए । भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, सिलगुडी, कोलकातालगायत विभिन्न सहरका ट्राभल एजेन्सीलाई पनि उडान प्याकेज उपलब्ध गराई  नेपालका पर्यटकीय स्थलबारे स्थलगत रूपमा जानकारी दिइएको छ । प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘भारतका विभिन्न सहरका ट्राभल एजेन्सीका प्रतिनिधिलाई विराटनगर र भद्रपुरबाट उडान गरी सुकेटार, लामिडांडा लगायत स्थानमा पुर्याईसकेका छौं ।’ 
सीता एयरले कम्तीमा एउटा सेड्युल फाइलसहित मागअनुसार प्याकेज फ्लाइट गर्ने जानकारी श्रेष्ठले दिए । सीता एयरले डिसेम्बर १५ देखि उडान सुरू गर्ने पनि जनाएको छ । हलेसी र पाथीभरा दर्शनका लागि प्रतिव्यक्ति  २३ हजार  रुपैया“को प्याकेज उडान  गर्न लागिएको छ । जसका लागि विराटनगर र भद्रपुरबाट लामिडांडा र सुकेटार विमानस्थलमा सीता एयरले यात्रु लैजाने छ । लामिडांडादेखि हलेसी र सुकेटारदेखि पाथीभरा माउन्टेन एयरको हेलिकोप्टरले यात्रु ल्याउने र लैजाने व्यवस्था गरिएको छ । 

पूर्वी पहाडका धार्मिक पर्यटकीय क्षेत्रलाई लक्षित गरी प्याकेजसहित सेड्युल उडान थाल्ने विषयमा जानकारी दिन आयोजित कार्यक्रममा सहभागी । 
 

यसमा तपाईको मत