बजार संक्षेप

अन्योलले पुँजीबजार ओरालोतिर

    2019-08-11

करुण ढकाल
काठमाडौं-पुँजीबजारमा प्रत्यक्ष प्रभाव पार्ने सरकारी निकायको अपरिपक्व गतिविधिका कारण नेप्से लगातार ओरालो लागेको छ । पुँजीगत लाभकरसम्बन्धी विवाद समाधानका लागि सम्बन्धित सरकारी निकायले एकले अर्कालाई देखाउँदै पन्छिने प्रवृत्ति अँगाल्दा यसले बजारमा निरन्तर असर पु¥याएको छ । मूलतः धितोपत्र बोर्ड र अर्थ मन्त्रालयका पुँजीबजार प्रतिकूल गतिविधिले बजारलाई गम्भीर असर पु¥याइरहेको सेयर लगानीकर्ताको विश्लेषण छ । त्यसमाथि नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको नयाँ निर्देशनले बैंक तथा वित्तीय संस्थाको मुनाफामा असर पु¥याउने अनुमानका कारण पनि लगानीकर्ता डराइरहेका छन् । धितोपत्र बोर्डले पुँजीगत लाभकरसम्बन्धी नयाँ व्यवस्था लागू भएको २५ दिन पुगिसक्दा पनि अझै गणना विधि टुंगो लगाउन सकेको छैन ।
सम्बन्धित सरकारी निकायको पुँजीबजार प्रतिकूल व्यवहारका कारण गत साता पनि नेप्सेको ओरालो यात्रा रोकिएन । गत साता नेप्से २५.२८ बिन्दुले ओरालो लाग्यो । अघिल्लो साता पनि नेप्से ६ बिन्दुले ओरालो लागेको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन १२६३.८४ बिन्दुमा बन्द भएको बजार गत साताभरिमा दुई प्रतिशतले ओरालो लागी बिहीबार १२३८.५६ बिन्दुमा आइपुगेको छ । यसैगरी ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६६ प्रतिशतले ओरालो लागी २६८ मा आइपुगेको छ । सामन्यतया साउन महिनामा पुँजीबजार उकालो लाग्नुपर्नेमा त्यसो नहुँदा लगानीकर्ता हतास बनेका छन् । 
कारोबार रकममा सामान्य सुधार
बजार घटे पनि कारोबार रकममा भने अघिल्लो साताको तुलनामा केही सुधार भएको छ । अघिल्लो साता दुई अर्ब ८ करोड ६२ लाख १५ हजार ६ सय ७१ रुपैयाँको कारोबार भएकोमा गत साता दुई अर्ब १९ करो १३ लाख ८७ हजार ६ सय ३६ रुपैयाँको सेयर किनबेच भएको छ । यो अघिल्लो साताको तुलनामा पाँच प्रतिशतले बढी हो । 
कृषिको सबैभन्दा बढी कारोबार
गत साता कृषि विकास बैंकको सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको १७ करोड २८ लाख ६९ हजार दुई सय एक रुपैयाँको सेयर किनबेच भएको हो । कारोबार रकमका आधारमा दोस्रोदेखि पाँचौंसम्म क्रमशः नेपाल बैंक, रसुवागढी हाइड्रोपावर, एनसिसी बैंक र प्रभु बैंक रहेका छन् । उच्च कारोबार हुने १० कम्पनीमा ६ वटा बैंक छन् । 
जलविद्युत् समूहमा उच्च गिरावट
गत साता सबैभन्दा बढी जलविद्युत् समूहको सेयर भाउ घटेको छ । यस समूहको सूचक ६.०२ प्रतिशतले घटेर ११११.५४ बिन्दुमा झरेको छ । यसैगरी लघुवित्त २.९१, उत्पादनमूलक समूह २.९, निर्जीवन बिमा २.२८, होटल्स १.७४, बैंकिङ र वित्त समूह समान १.६१ प्रतिशतले ओरालो लागेका छन् । म्युचुअल फन्ड १.३९, अन्य १.२६, विकास बैंक १.३५ र जीवन बिमा समूह ०.८७ प्रतिशतले ओरालो लागेका छन् । गत साता एउटा मात्रै समूहको सूचक बढेको छ । व्यापार समूहको सूचक १.२७ प्रतिशतले उकालो लागेको छ । 
घट्दो बजारमा गत साता सबैभन्दा बढी सेयर भाउ बढ्नेमा स्वाभिमान माइक्रोफाइनान्स परेको छ । यस कम्पनीको सेयर भाउ ८.१८ प्रतिशतले बढेर सात सय ८० रुपैयाँ पुगेको छ । यसैगरी नेपाल एग्रो लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वरोजगार लघुवित्त र गुराँस लाइफ इन्सुरेन्सको सेयर भाउ पनि पाँच प्रतिशतभन्दा बढीले उकालो लागेको छ । 
गत साता सबैभन्दा बढी घट्नेमा सामुदायिक लघुवित्त कम्पनी रहेको छ । यस कम्पनीको सेयर भाउ १३.९८ प्रतिशतले झरेर ६ सय ३४ मा आइपुगेको छ । सिभिल लघुवित्त, इन्फिनिटी लघुवित्त, नेपाल सेवा लघुवित्त र ग्रामीण विकास लघुवित्त कम्पनीको सेयर भाउ पनि ९ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । सबैभन्दा बढी भाउ घट्ने १० कम्पनीमा सबै लघुवित्त समूहका छन् । लघुवित्त समूहको सेयर भाउ अघिल्लो साता उच्च गतिमा बढेको थियो । पछिल्लो साता त्यसमै मा करेक्सन देखिएको हो ।
बजारमा विक्रेता हावी 
गत साता बजार निरन्तर ओरालो लाग्यो । बुधबार सामान्य बिन्दुले सुधार भए पनि बिहीबार टिक्न सकेन, बरु अझ धेरै बिन्दुले ओरालो लाग्यो । सम्बन्धित सरकारी निकायका कारण बढेको अन्योलका कारण लगानीकर्ताले सेयर आपूर्ति बढाउँदा बजार घट्न पुगेको हो । साताका चार दिनमा बनेका राता महिनबत्तीले पनि यो कुरा पुष्टि गर्छन् । यस दिन चारवटा राता महिनबत्ती र एउटा हरियो महिनबत्ती बनेका छन् । साप्ताहिक समयावधिको चार्टमा हेर्दा क्लोजिङ मारुबोजु प्रकृतिको रातो महिनबत्ती बनेको छ ।  यसले पनि क्रेताको तुलनामा बजारमा विक्रेता हावी भएको संकेत गर्छ । साताको अन्त्यमा आरएसआई ३६.९ विन्दुमा छ । यसले पनि बजारमा बिक्री चाप बढ्दै गएको देखाउँछ । 
बिहीबार बजार बोलिङ्गर ब्यान्डको तल्लो रेखालाई छोएर बन्द भएको छ । एमएसिडीका दुवै रेखा शून्य विन्दुभन्दा तल छन् । फास्ट लाइन र स्लो लाइनबीचको अन्तर निरन्तर बढिरहेको छ । १३ दिने मुभिङ एभरेज १२४७ विन्दुमा छ भने ४८ दिने मुभिङ एभरेज १२६३ विन्दुमा छ । यी दुई रेखाको अन्तर गत साताको तुलनामा झनै फराकिलो बनेको छ । 

यसमा तपाईको मत