बजार संक्षेप

भक्तपुरमा बजार अनुगमन : आफै मूल्यसूची राखेर सामान बेच्दै सेल्सबेरी

  नागरिक   2021-10-03

भक्तपुरको सेल्सबेरीमा खरिद बिल नै नराखी आफैँले मूल्यसूची टाँसेर सामान बिक्री गरेको पाइएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाको काल्हाँचामा हालै सञ्चालनमा आएको सो डिपार्टमेन्ट स्टोरले आफूखुसी मूल्य राखेर उपभोक्ता ठगी गरेको पाइएको हो।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले आइतबार गरेको बजार अनुगमनमा सेल्सबेरीले नयाँ तरिकाले उपभोक्तालाई ठग्दै आएको पाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। ‘अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु कालोबजारी गरेको पाइएको थियो भने चिनीमा कालो बजारीसम्बन्धी ऐनले तोकेको खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मुनाफा लिएर वस्तु बिक्री वितरण गरेको पाइएको छ’, उनले भने, ‘ऐनले यसो गरेमा कालोबजारी गरेको ठहर्ने व्यवस्था गरेको छ।’

दैनिक उपभोग्य सामानमा समेत पसलैपिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ। अनुगमन टोलीले विभिन्न सामानहरुको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ भने नापतौलमा फरक परेको पाइएको छ। नापतौलको अनुमतिसमेत नलिएको पाइएपछि तीन दिनभित्र कार्यालयमा उपस्थित भई सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको छ।  

सूर्यविनायककै मानन्धर हार्डवेयरमा उपभोक्तलाई नाफा छुट नदिई बिक्री गरेको पाइएको छ। हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको छ। सूर्यविनायककै चम्पकेश्वर हार्डवेयरको अनुगमनमा सात वर्षदेखि नापतौलको अनुमति नै नलिई सामान बिक्री गरेको पाइएको छ। आवश्यक बिल बिजकसमेत नराखेको पाइएको छ।

सूर्यविनायकको दीपु इम्पेक्समा अनुगमन गर्नाका साथै चुनदेवीस्थित चुनदेवी स्टोरमा गरिएको अनुगमनमा टोलीले कारबाही गरेको छ। चुनदेवी स्टोरको सञ्चालक निलिमा कर्माचार्यलाई तत्कालै रु। १० हजार जरिवाना गरेको छ  स्टोरले बिल बिजक देखाउन नसकेको, अत्यधिक फोहर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको, कालो बजारी गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी केशरीले बताए।

यसमा तपाईको मत