बजार संक्षेप

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

  नागरिक   2019-12-06

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलन मार्फत यही शुक्रवार (मंसिर २०) आयोजना गरिने अवार्डको सबै तयारी पूरा भएको जानकारी दिएको छ । महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघ–संस्था तथा फर्म/कम्पनीहरुलाई अवार्ड कार्यक्रम मार्फत् महासंघले सम्मान गर्दै आएको महासंघका अध्यक्ष रवि सिंहले बताएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण व्यवसाय प्रवर्दन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्धी सिद्धी सिमेन्ट (शंकर ग्रुप)को मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । अवार्डमा जगदम्बा स्टिल्स् र केस कन्स्ट्रक्शन इक्विप्मेन्ट पाउरड बाई विधामा रहेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाल सरकारका अन्य मन्त्रीहरु, सचिवहरु, विभिन्न विभागका महानिर्देशकहरु सहित देशभरबाट आएका निर्माण व्यवसायीहरुको पनि कार्यक्रममा उपस्थिति रहने अध्यक्ष सिंहले जानकारी दिए। अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा “पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति” गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले जानकारी दिनुभयो । उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग अलग मूल्याङकनका आधारमा स्वर्ण, रजत र काँस्यगरी १२ वटा कम्पनी पुरस्कृत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म /कम्पनी प्रदेशगत रुपमा पुरस्कृत हुने भएको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायी लगायतलाई समेत महासंघले सम्मान गर्ने भएको छ । त्यस्तै नेपाल भरका निर्माण व्यवसायीका छोराछोरी मध्येबाट सिभिल इन्जिनियरिङमा उत्कृष्ट हुने विद्यार्थीलाई सोही सम्मान गरिने भएको छ । निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई महासंघ गौरव सम्मान प्रदान गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए। निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदातृ कम्पनी, उत्कृष्ट निर्माण मैत्री ईन्जिनियर पनि उक्त अवसरमा सम्मानित हुने महासंघले जानकारी दिएको छ। निर्माण व्यवसायको क्षेत्र समेटी उत्कृष्ट समाचार सम्प्रेषण गर्ने  टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइनलाई पनि अवार्ड  प्रदान गरिने महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैवर्ष देखि एक विधा थप गरी पूर्वाधार विकास तथा निर्माण सरोकार सम्बन्धी समाचारहरुलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारलाई सम्मान गर्न लागिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिए। 
    यसैबीच महासंघले मंसिर २२ गते आइतबार विहान १२औं राष्ट्रिय निर्माण दिवसको अवसरमा प्रभातफेरि सहित दिउँसो महासंघ सचिवालयमा रक्तदान कार्यक्रम गर्ने भएको छ । प्रभातफेरि कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्री मोहमद इस्तियाक राई रहनु हुने महासंघले जनाएको छ । साथै सोही अवसरमा महासंघको मुखपत्र निर्माण समाचारको लोकार्पण गरिने भएको छ। प्रदेश महासंघ तथा सम्पूर्ण जिल्ला संघहरुमा समेत आइतबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिने महासंघको विज्ञप्तिमा उल्लेख छ ।  

यसमा तपाईको मत