घर निर्माण विशेष

प्रिफ्याब घरको ट्रेन्ड

  नागरिक   2018-04-06

प्रिफ्याब्रिकेटेड घर अर्थात् छोटकरीमा प्रिफ्याब घर भन्नाले यस्तो घरलाई बुझिन्छ जुन घरका विभिन्न भागहरु पहिले नै फ्याक्ट्रीमै बनेर आएको हुन्छ। ती पहिलै बनेका घरहरुलाई आवश्यकता अनुसार जोडेर आफूलाई मन परको जस्तै घर बनाउन सकिन्छ। अझ आफूलाई चाहिए जस्तै घरका भागहरु बनाउनलाई अर्डर पनि गर्न सकिन्छ। यसरी बनाउने घर धेरै सस्तो हुन्छ। सस्तोका साथ साथै यस्तो घर बन्नलाई थोरै समय लाग्छ। यसर्थ, थोरै बजेट भएका वा चाडै घर बनाउन चाहनेहरुका लागि यो घर राम्रो विकल्प हुनसक्छ।

प्रिफ्याब घरका फाइदा नै फाइदाहरु:

प्रिफ्याब घर बनाउनुका अनेक फाइदाहरु छन्। यो घर अन्य घरको तुलनामा धेरै चाडो बन्छ। कंक्रिट प्रयोग गरेर बनाइने घरभन्दा यो घर धेरै सस्तो हुन्छ। यस्तो घर भूकम्प प्रतिरोधी हुन्छ र यस घरमा आगलागीको डर हुदैन। पहिले नै फ्याक्ट्रीबाट इन्जिनियर र विशेषज्ञहरुबाट बनाइने भएकाले अप्रत्याशित गल्ती हुने सम्भावना अति नै कम हुन्छ। २० देखि ७० वर्षसम्म वारेन्टी दिईने यस्ता घरहरु धेरै समय सम्म निर्धक्क भएर प्रयोग गर्न सकिन्छ। यो घर बनाउनका लागि धेरै जगको आवश्यकता पनि पर्दैन।

प्रिफ्याब घरको रोमाञ्चक इतिहास:

भारतमा अकबरले १६औं शताब्दीमा प्रिफ्याब घरको आविष्कार गरेको मानिन्छ। अमेरिकामा प्रिफ्याब घर भित्र्याउने भने बेलायेतीहरु थिए। १९ औं शताब्दीतिर बेलायतबाट भागेर अमेरिका जाने क्रममा बेलायतीहरुले आफ्नो तत्कालीन घर भत्काएर सो घरका टुक्राहरु जहाजमा हालेर अमेरिका नै लिएर गएका थिए। अमेरिका पुगेर सो टुक्राहरुलाई जोड्ने क्रममा नै मोडर्न प्रिफ्याब घरको सोचको विकाश भएको थियो। २० औं शताब्दीको सुरुवातमा आएर अमेरिकामै यसलाई व्यावसायिक रुपमा संचालन गर्न सुरु गरियो। अहिले अमेरिकामा मात्र आधाभन्दा बढी घरहरुमा केही न केही प्रिफ्याब सामग्री प्रयोग गरेको पाइन्छ।

मोडर्न प्रिफ्याब घर:

नयाँ किसिममा प्रिफ्याब घरहरु भने बेग्लै ढंगमा बनाईन्छ। यिनीहरु हेर्दामा मोडर्न र राम्रा हुन्छन।नयाँ प्रिफ्याब घरहरुमा धेरै ग्लास र स्टिलको प्रयोग गरिन्छ। आज भोलिका प्रिफ्याब घरहरु अपग्रेड गर्न मिल्छ अर्थात् चाहना र आवश्यकता अनुसार नयाँ नयाँ कुरा थप्दै जान पनि मिल्छ। अर्कीटेक र इन्जिनियरहरुले पुराना विधिहरु र सामग्रीहरु प्रयोग गरेर वातावरण मैत्री प्रिफ्याब घर बनाउन सफल भएका छन्। स्मार्ट प्रिफ्याब घर पनि अहिले चर्चाको बिषय बनेको छ। स्मार्ट प्रिफ्याब घरमा बिशेष सुरक्षा विधि, स्वचालित रुप तापक्रम बढ्ने र घट्ने सुविधा, स्मार्ट लाइट जस्ता नयाँ र मोडर्न उपकरणहरु प्रयोग गरिएको हुन्छ।

 

नेपालमा प्रिफ्याब घर:

नेपालमा पनि प्रिफ्याब घरको ट्रेन्ड बढ्दो छ। सन् २०१५ सालको ठूलो भूकम्पपछि प्रिफ्याब घरहरुले धेरै चर्चा पाएको हो। प्रिफ्याब घर भूकम्प प्रतिरोधात्मक हुने र बनाउनमा सस्तो हुने भएकाले धेरै नेपालीहरुलाई यस्तो घरको चासो लागेको हो।भूकम्प पछि पनि नेपालमा विभिन्न स्थानहरुमा भूकम्प पिडितका निम्ति प्रिफ्याब घरहरु बनाइएका थिए। नेपालमा प्रिफ्याब घर बनाउनका लागि विभिन्न प्रिफ्याबका घरहरु बिक्रि वितरण गर्ने कम्पनीहरु बनेका छन्।  

यसमा तपाईको मत