बजार संक्षेप

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

  नागरिक   2019-09-19

काठमाडौं– प्राविधिक कारणले अन्य बैंकको एटिएम र पिओएस मेसिनमा नचल्ने एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड पुनः सबै बैंकको एटिएम र पिओएस मेसिनमा चल्न थालेका छन् । भदौ १८ देखि यस बैंकका डेबिट र क्रेडिट कार्ड अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम र पिओएस मेसिनमा नचल्ने भएका थिए । 
असोज १ गतेबाट एनआइसी एसियाका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेवटर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाका पिओएसमा समेत चल्ने व्यवस्था मिलाइएको बैंकको विज्ञप्तिमा उल्लेख छ । यसबीचमा प्रविधिक कारणले ग्राहकलाई भएको असुविधाको लागि बैंक क्षमायाचना गरेको छ । 
एनआइसी बैंकले दुई सय ९८ शाखा, तीन सय ५७ एटिएम, ६९ एक्सटेन्सन काउन्टर र ४१ वटा शाखारहित एकाइमार्फत सेवा दिइरहेको छ । एनआइसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । यसले करिब १८ लाख ग्राहकलाई सेवा दिइरहेको र बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको विज्ञप्तिमा उल्लेख छ । 
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको तथा वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थिति रहेका दुर्गम जिल्ला र कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सेवा दिइरहेको छ ।

यसमा तपाईको मत